पढ्न करिब 1 मिनेट लाग्छ

चैत १६, म्याग्दी | बिहीबार साँझ बेनी र आसपासका क्षेत्रमा परेको असिनाले खेतीबालीमा करोडौँको क्षति पु¥याएको छ ।

बेनी नगरपालिका र जलजला गाउँपालिकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफूल र आलु खेतीमा असिनाले क्षति पु¥याएको हो ।

भित्र्याउने बेला भएको गहुँ, जौ, आलु, तरकारीबालीमा असिनाले नष्ट गरेपछि कृषक जलजला–७ धाइरिङका अगुवा कृषक एकनारायण पौडेलले निराशा व्यक्त गर्नुभयो ।

बीउ उत्पादनका लागि लगाइएको काँक्रो, घिरौँला, गोलभेँडाका बिरुवाका साथै ताजा तरकारी असिनाले चुटेर नष्ट गरेको छ । धाइरिङमा मात्र करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको कृषक पौडेलले बताउनुभयो ।

खबरा, बेनी, आनन्दबगर, मिलनचोक, मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजा क्षेत्रमा बाक्लो असिना परेको थियो । हिउँदभरिको खडेरीका कारण खेतीबारी फस्टाउन नसकेको अवस्थामा असिना पानीले नष्ट गरेपछि कृषक निराश बनेका छन् । कृषकले क्षतिको मूल्याङ्कन गरी राहतको व्यवस्था र बाली बीमा कार्यक्रम कार्यान्वयनको माग गरेका छन् । रासस