पढ्न करिब 1 मिनेट लाग्छ

असार १५, दाङ | पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा धानको ब्याडसमेत छिपिँदै गएको छ । जिल्लामा ३८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छन् ।

पर्याप्त वर्षा नहुँदा अहिलेसम्म १५ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय दाङका वरिष्ठ कृषि विकास अधिकृत दीपककुमार शर्माले जानकारी दिनुभयो ।

धान रोपाइँमा ढिलाइ हुँदा धानको उत्पादनमा समेत कमी आउँछ, उहाँले भन्नुभयो, “ब्याड राखेको २२ देखि २५ दिनभित्र धान रोप्नका लागि उपयुक्त हुन्छ, तर ब्याड राखेको महिना दिनसम्म पनि किसानले रोप्न पाएका छैनन् ।”

सिँचाइको व्यवस्था भएका केही स्थानमा किसानले धानको बीउ राख्ने र रोप्ने काम गरे पनि जिल्लाका अधिकांश स्थानका खेत बाँझै छन् । समयमै पानी नपरेका कारण यसवर्ष अघिल्ला वर्षहरुभन्दा ढिला धान रोपाइँ हुने भएको छ । रासस