2026-11-02 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसले विदेश त्यागेर कृषि रोजे

रामबहादुर थापा/तारानाथ आचार्य | असोज ४, बाग्लुङ |  “विदेशको चक्करमा चार वर्ष भौँतारिएँ, कहिले काठमाडौँ त कहिले दिल्ली धाउँदा पैसा उड्यो, पढाइ पनि बिग्रियो”, ३४ वर्षीय विष्णु थापाले आफ्नो नमिठो विगत कोट्याउनुभयो ।

गलकोट नगरपालिका–७ मल्म, टोकरीका थापालाई शुरुमा विसं २०६५ तिर कोरियाको मोहले तान्यो । स्नातकको पढाइ बीचमै छाडेर भाषा पढ्न थाल्नुभयो । कोरियाको सपना टुट्यो । मन जापानतिर गयो । “जापानका लागि प्रयास गरेँ, काम भएन, पैसा पनि गयो”, उहाँले भन्नुभयो, “केही नलागेपछि दुई वर्ष दिल्लीमै बसेर भाँडा माझेँ, त्यसपछि घर फर्के ।” 

सित्तैमा कसैले लान्छु भने पनि विदेश नजाने निर्णय लिएर थापा विसं २०६८ मा घर फर्कनुभयो । उहाँ विदेशको सपना त्यागेर गाउँ फर्कदाँ छिमेक र टोलका युवाहरु भने कोही जापान त कोही अरबतिर भविष्य खोज्दै थिए ।

“कहिल्यै विदेश नजाने सङ्कल्प गरेर म दिल्लीबाट घर आएँ, त्यतिबेला मेरो साथमा रु छ हजार मात्र थियो”, थापाले भन्नुभयो, “गाउँ आएपछि कृषिमा केही गर्ने सोच पलायो, व्यावसायिक बाख्रापालनतिर लागेँ ।” उहाँले आफूसँग बचेको त्यही रु छ हजारबाट बाख्रापालन शुरु गर्नुभयो ।

दुईटा बाख्राबाट शुरु गरेको व्यवसाय अहिले ‘घुम्टे बाख्रापालन फार्म’मा परिणत भएको छ । फार्ममा अहिले स्थानीय खरी, बोयर र जमुनापारि जातका गरी ६० बाख्रा छन् । फार्ममा उत्पादन भएका खसीबोका चलेको मूल्यमा स्थानीय बजारमै बिक्री हुन्छन् । खर्च कटाएर बाख्रापालनबाट वार्षिक रु पाँच लाख बढी आम्दानी हुने गरेको थापा बताउनुहुन्छ । उहाँलाई बाख्रापालन व्यवसायमा श्रीमती रीताको सहयोग र साथ छ । 

तत्कालीन जिल्ला पशु सेवा कार्यालय र गलकोट नगरपालिकाले पनि बाख्रापालनमा अनुदान सहयोग उपलब्ध गराएका छन् । उन्नत जातको बोका राखेर बाख्रापालन व्यवसायलाई थप विस्तार गर्ने योजना थापाको छ । “गाउँका अधिकांश युवा सबै विदेश छन् मैले भने स्वदेशमै केही गर्ने अठोटका साथ काम गरिरहेको छु, कृषिलाई नै मूल पेशा बनाएको छु”, थापाले भन्नुभयो । 

गत वर्ष मलेसियाबाट फर्कनुभएका निसीखोला गाउँपालिका–३ झिवाखोलाका राजमान बुढा पनि विदेशको रहर पुरा भएको बताउनुहुन्छ । प्रदेशी भूमिमा भोकनिद केही नभनी पसिना बगाउने बुढा अहिले आफ्नै बारीमा लगाएको तरकारीमा भविष्य देखिरहनुभएको छ । तीन वर्ष बहराइन र दुई वर्ष मलेसियामा काम गर्दाका कष्टपूर्ण क्षण भने उहाँको सम्झनामा ताजै छन् । 

“घरमा किराना व्यवसाय छ, तरकारी खेती गरेको छु, विदेशको जति कमाइ यहीँ छ”, उहाँले भन्नुभयो । धन कमाउने आशामा खाडीमुलुक चहार्नुभएका बुढा आखिरीमा घर फर्केर कृषिको व्यावसायीकरणतर्फ लाग्नुभयो । विदेशबाट फर्केर झिवाखोलामा कृषि कर्म गर्नेमा बुढा एक्लो हुनुहुन्न । बुढालाई कृषिमा साथ दिनुभएको छ सोही ठाउँका विमल शाहीले ।

शाही पनि अघिल्लो वर्ष नै दुबईबाट घर फर्कनुभएको थियो । एक वर्ष पनि दुबई नबसी फर्कनुभएका शाही, बुढा र अर्का स्थानीय श्यामबहादुर शाही मिलेर सामूहिक तरकारी खेती गरीरहेका छन् । “विदेशको दुःख, कष्ट देखेपछि स्वदेशमै फर्केर केही गर्ने सोच आयो”, बिमलले भन्नुभयो, “नेपाल आएपछि युवा मिलेर निसीखोला कृषि फार्म खोलेका छौँ ।” 

कृषिबाटै आत्मनिर्भर बन्ने उद्देश्यसहित तीनै युवा व्यावसायिक कृषिमा लागेका हुन् । “मौसमअनुसारको तरकारी उत्पादन भइरहेको छ, बजारलाई कुनै समस्या छैन”, शाहीले भन्नुभयो, “आम्दानी पनि राम्रै छ, लगानी थप्ने योजनामा छौँ ।” शुरुमा तरकारी खेतीका लागि रु चार लाख लगानी भएको उहाँको भनाइ छ । 

पाँच वर्षे कोरिया बसाइँ छोट्याएर बीचमै नेपाल फर्कनुभएका जैमिनी नगरपालिका–१ कुश्मीसेराका भीमप्रसाद आचार्य पनि हिजोआज बाख्राको स्यहारसुसारमा व्यस्त हुनुहुन्छ । आचार्यको फार्ममा अहिले २८ वटा स्थानीय खरी जातका बाख्रा छन् । 

तीन वर्षअघि कोरियाबाट फर्कनुभएका आचार्य व्यावसायिक बाख्रापालनतिर लाग्नुभएको हो । बाख्रासँगै कुखुरापालन र तरकारी खेतीलाई पनि व्यावसायिक बनाउने उहाँको योजना छ । “मासिक रु एक लाख कमाउने लक्ष्यसहित कृषिमा लागेको छु”, उहाँले भन्नुभयो, “अहिले बाख्राको बगाल बढाउने र लगानी थप्नेतिरै मेरो बढी जोड छ ।”

विगत १७ वर्ष प्रवासमा बिताउनुभएका गलकोट नगरपालिका–११ रिघाका जीतबहादुर रानामगरले पनि स्वदेश फर्केपछि कृषि रोज्नुभयो । स्थानीय रामप्रसाद पुन र शेरबहादुर श्रीससँग मिलेर आठ वर्षअघि खोलेको ‘मिलिजुली कृषि फार्म’बाट अहिले वार्षिक रु २० लाखभन्दा बढीको तरकारी उत्पादन भइरहेको छ । करीब १४ रोपनी जग्गामा तरकारी खेती भइरहेको रानामगरको भनाइ छ । 

“१२ वटा हाइटेक प्रविधिको टनेलमा तरकारी खेती छ, अहिलेसम्म रु ४० लाख जति लगानी भइसक्यो”, उहाँले भन्नुभयो । फार्मले कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट रु १० लाख अनुदानसमेत पाएको छ । फार्म सञ्चालनमा आएपछि दुई जनाले रोजगारीसमेत पाएका छन् ।

यी तिनै प्रतिनिधि पात्र हुन् जस्ले विदेश त्यागे, कृषि रोजे र गाउँका उदाहरण पनि बने । पछिल्लो समय विदेशबाट फर्केर कृषि उद्यममा लाग्नेको संख्या बढ्दो छ । त्यस्ता उद्यमीलाई सरकारले पनि विशेष अनुदान, सहुलियत दरको ऋण र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

विदेशबाट फर्केर व्यावसायिक कृषि गर्ने युवाले कृषिका कार्यक्रममा प्राथमिकता पाएको कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । “लागत साझेदारीमा ५० प्रतिशतसम्म अनुदान दिन्छौँ, तालिमलगायत प्राविधिक सहयोग पनि उपलब्ध हुन्छ”, उहाँले भन्नुभयो ।

कार्यालयबाट सञ्चालन हुने जैविक तरकारी खेती, नमूना फार्म र हाइटेक टनेल खेतीसम्बन्धी कार्यक्रममा बढीजसो युवानै सङ्लग्न छन् । जैविक तरकारीतर्फ बागलुङमा सबैभन्दा बढी कार्यक्रम परेको केन्द्रले जनाएको छ । यो वर्ष उक्त कार्यक्रमका लागि रु डेढ करोड बजेट छुट्टिएको छ ।

“पहिले एउटामात्र टनेल पाउने अवस्था थियो, अहिले एउटै किसानलाई लाखौँ रुपैयाँसम्म अनुदान जान्छ”, अधिकृत रेग्मीले भन्नुभयो, “कृषिमा समर्पित भएर लाग्नेलाई राम्रो अवसर छ, परिश्रमीले निराश हुनु पर्दैन ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द