पढ्न करिब 1 मिनेट लाग्छ

चैत ८, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराही कुट्टीमा आजदेखि विश्व कल्याणार्थ ‘श्री सीताराम नाम सङ्कीर्तन’ महायज्ञ सुरु भएको छ ।

अनन्तश्री विभूषित परमतपस्वी महात्यागी सन्त सीताराम दासजीको तत्वाधानमा आजदेखि १० दिनसम्मका लागि महायज्ञ सुरु भएको महायज्ञ समितिका अध्यक्ष जयरुद्र झाले बताउनुभयो । महायज्ञको आज बिहान ११ बजे मटिहानी मठका मान महन्थ जगन्नाथदास वैष्णवले उद्घाटन गर्नुभएको छ । महायज्ञमा पूजन तथा हवन आचार्य कालीकान्त झाले गर्नुभएको छ ।

यही चैत १८ गतेसम्म चल्ने महायज्ञमा प्रतिदिन बिहानदेखि निरन्तर सीताराम जप सङ्कीर्तन, प्रवचन, अग्नि आहुति (हवन), ‘रामचरितमानस’ पाठ तथा भारतको वृन्दावनको विशेष धार्मिक सांस्कृतिक टोलीद्वारा राति ८ बजेदेखि महारासलीलाको व्यवस्था गरिएको अध्यक्ष झाले बताउनुभयो ।

बजराहीवासीसहित सम्पूर्ण जलेश्वर नगरवासी तथा इच्छुक दाताको रु ३० लाखको सहयोगमा १० दिनसम्म सञ्चालन हुने महायज्ञमा नेपाल र भारतका थुप्रै साधुसन्त, महात्मा र जोगी आएका छन् ।

महायज्ञ आयोजक समितिले सम्पूर्ण आगन्तुक तथा दर्शनार्थीका लागि प्रसाद तथा निःशुल्क भोजनका साथै महायज्ञको आवश्यक सुरक्षालगायत सबै व्यवस्था मिलाएको छ । रासस