2026-09-19 01:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोगडाकेदारमा बैतडीकै पहिलो होमस्टे सञ्चालनमा

पुस १३, बैतडी । स्थानीय कला, भाषा, संस्कृति तथा खानाका परिकारको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले बैतडी जिल्लामै पहिलो होमस्टे (घरबास) दोगडाकेदारमा सञ्चालनमा आएको छ । 

दोगडाकेदार गाउँपालिका–६ सित्तडमा सञ्चालनमा रहेको उक्त होमस्टेमा स्थानीय कला, संस्कृति, पुरानो रीतिरिवाज, वेषभूषा, रहनसहन र यहाँको स्थानीय खानाका परिकार रहेका होमस्टे सञ्चालन सुशीला मडैले जानकारी दिनुभयो । 

सुशीला होमस्टे नाम दिएर सञ्चालनमा रहेको उक्त होमस्टेमा डोटेली कला संस्कृति सगुन, फाग, छलिया नृत्यका साथै सुदूरपश्चिमको मुख्य खेल डेउडा आकर्षण रहेका छन् । यहाँको स्थानीय पोशाक घाक्रा, चोली, आङणोका साथै स्थानीय खानाका परिकार माणा, कोदोको रोटी, मकैको रोटी, डुब्का, बटुकलगायतको परिकार रहेका होमस्टे सञ्चालक मडैले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यहाँ रहेका मठमन्दिर तथा कोटको पनि अवलोकन गर्न सकिन्छ ।” 

ग्रामीण क्षेत्रमा होमस्टे सञ्चालनमा ल्याएको भएपनि आन्तरिक तथा बाह्य पर्यटकको संख्या भने न्यून रहेको छ । सडक सुविधासमेत नपुग्दा तथा बिजुलीको पनि पर्याप्त सुविधा नहुँदा केही समस्या भएको छ, उहाँले भन्नुभयो “खाद्यान्न सामग्रीसमेत दुई घण्टाको पैदल हिँडेर बोक्नुपर्ने बाध्यता रहेको छ ।” 

आफ्नै घरमा रहेको उक्त होमस्टे विगत एक वर्षदेखि सञ्चालनमा रहेको छ । हाल एउटामात्र घरमा रहेको उक्त होमस्टे पाहुना तथा पर्यटकको चाप बढेपछि विस्तारै बढाउने उहाँले जानकारी दिनुभयो । 

होमस्टे सञ्चालनमा रहेकोबारे प्रचारप्रसार हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिएको छैन । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन स्थानीय तह तथा सम्बन्धित निकायले प्रचारप्रसारमा जोड दिनुपर्ने देखिएको छ । 

जिल्ला लघुउद्यमी समूह संघ, बैतडी र अन्य केही संघसंस्थाको सहयोगमा सुशीलाले उक्त होमस्टे एक वर्ष अगाडिदेखि सञ्चालनमा ल्याउनुभएको छ । होमस्टेका साथै सुशीलाले तरकारी खेती, बाख्रापालन पनि गर्नुभएको छ । 

यसले गर्दा आर्थिक समस्या पनि हटेको उहाँले बताउनुभयो । होमस्टेका साथै तरकारी खेती र बाख्रापालनले गर्दा मेरो आर्थिक स्थितिमा सुधार आएको छ, उहाँले भन्नुभयो “घरधन्दा चलाउन कुनै समस्या आएको छैन, सजिलैसँग चलाएकी छु ।” 

होमस्टे श्रीमान्को विशेष सहयोगमा सञ्चालनमा गरेको र तीन छोरीलाई समेत पठनपाठनमा सजिलो भएको उहाँले बताउनुभयो । दोगडाकेदार गाउँपालिका–६ सित्तडमा रहेको होमस्टेबाट बैतडीको दोगडा धाम, चमेलिया नदीलगायत दार्चुलाको अपि हिमाल, राष्ट्रकै साताँै धाम मालिकार्जुन, बझाङको सैपाल हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ । 

बैतडी जिल्लामै पहिलोपटक सञ्चालनमा आएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलो हुने जिल्ला लघुउद्यमी समूह संघ, बैतडीका अध्यक्ष इन्द्रदेव शरण भट्टको भनाइ रहेको छ । 

उक्त होमस्टेले स्थानीय कला, संस्कृति तथा स्थानीय खानाका परिकारले गर्दा पर्यटकलाई लोभ्याउनेछ, उहाँले भन्नुभयो, “रमाइलो ठाउँमा सञ्चालनमा रहेको उक्त होमस्टेले पर्यटकलाई तान्नेछ ।” होमस्टे सञ्चालनले यस क्षेत्रको पर्यटन विकासका साथसाथै जिल्लाको पहिचान झल्काउने समेत उहाँले बताउनुभयो । 

दोगडाकेदार गाउँपालिकामा जिल्लाकै पहिलो होमस्टे सञ्चालनमा आउनु खुशीको कुरा भएको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । 

हाम्रो परम्परागत शैली तथा स्थानीय खानाका परिकारको संरक्षणका लागि जिल्लामै पहिले होमस्टे दोगडाकेदार गाउँपालिकामा सञ्चालनमा आउनु राम्रो पक्ष हो, उहाँले भन्नुभयो “एउटा मात्रै घरमा रहेको उक्त होमस्टेलाई अब पूरै गाउँमा नै होमस्टे सञ्चालनमा ल्याउनुपर्छ ।” 

दोगडाकेदार गाउँपालिकालाई आर्थिक समृद्धिको गाउँपालिका बनाउन होमस्टेले पनि सहयोग गर्ने उहाँको भनाइ रहेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होमस्टे कार्यविधि जारी गरी नेपाल आएका पर्यटकलाई गाउँगाउँमा पु¥याउने नीति लिएपछि पर्यटकीय गाउँमा होमस्टे खुल्न थालेका छन् । होमस्टेले नेपालका विभिन्न ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन र आर्थिक रुपान्तरण गर्न सफल भएका धेरै उदाहरण छन् । विनोदसिंह बिष्ट/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो