वैशाख १६, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा सिलान्यास गर्ने भनिएको अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएको छ ।
संखुवासभा स्थित खाँदबारी-९ स्थित तुम्लिङटारमा रहेको आयोजनाको कार्यालयमा बम विस्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले गएराति १२:२५ बजे अज्ञात समूहले आयोजनाको कार्यालयमा विस्फोट गराएको जनाएको छ । प्रहरीका अनुसार, विस्फोटबाट कार्यालयको दक्षिणतर्फ सामान्य क्षति भएको छ ।
बम विस्फोटको कारण कार्यालयको पर्खालमा क्षति पुगेको प्रहरीले जनाएको छ । हालसम्म विस्फोट कसले गराएको भन्ने बिषयमा कुनै जानकारी छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।