२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पूर्ववत् अवस्थामा फर्किंदै अर्मलाको ठूलोबेंसी फाँट

२०७७, २२ असार सोमबार ०९:५९

हरि बाँस्तोला। असार २१, पोखरा । केही वर्षयतादेखि गोलो आकारको भकारी जस्तै भ्वाङ परेर भास्सिएपछि त्रास उत्पन्न भएको पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मलाको ठूलोबेंसी फाँट यतिखेर भने पूर्ववत् अवस्थामा फर्केको छ । विसं २०७० मङ्सिर ५ गते यो फाँटका केही जग्गामा भ्वाङ पर्न थालेपछि लगातार जमिन बाँझिएको थियो । तर अहिले भने यहाँका बासिन्दा रोपाइँमा व्यस्त छन् ।

यहाँको जमिनमा एकाएक भ्वाङ पर्न थालेपछि भूगर्भविद्हरुको टोलीले अनुसन्धान थाल्यो र पछि उनीहरुको सुझावमा फाँटहुँदै बग्ने कालीखोलामा चेकड्याम निर्माण गरिएको हो । पछिल्ला वर्षमा भ्वाङ पर्न छोडेपछि स्थानीय ढुक्कसँग कृषिकर्ममा फर्किएका हुन् ।

राम्रो कृषिजन्य उत्पादन हुने उर्वर यो फाँटको लगभग ५०० रोपनी जमिनमा एक सयभन्दा बढी ठाउँमा भ्वाङ परेको थियो । अहिले ती सबै पुरिएका छन् । अघिल्लो वर्षसम्म बाँभैm रहेको यहाँको खेत यस वर्ष पूरै रोप्ने तयारी छ र कतिपय स्थानमा रोपाइँ सकिएर पनि हरियो देखिएको छ ।

भ्वाङको मुख्य केन्द्र रहेको बिर्ताखेतमा रोपाइँ धमाधम छ । बस्तीतर्पmसमेत परेको भ्वाङका कारण विस्थापित भएका लगभग ५० परिवार अहिले सामान्य अवस्थामा सोही स्थानमा बसोबास थालेका छन् र नयाँ घर पनि बनिरहेका छन् । यो जमिनमा भ्वाङ थपिँदै गएपछि स्थानीयमा त्रास बढेको थियो र यसले सञ्चारमाध्यममा चर्चा पनि पाएको थियो । भौगर्भिक क्षेत्रमै अनौठो मानिएको यस घटनाको अध्ययन अनुसन्धान शुरु भएको थियो ।

विगतमा कालीखोलामा नदीजन्य वस्तु निकाल्नेक्रम बढेसँगै खोला गहिरिएपछि जमिनको तल्लो भागमा रहेको कमेरो माटो पग्लेर क्रमिकरुपमा बगेर फाँटमा भ्वाङ परेको तत्कालीन जल उत्पन्न प्रकोपका सिनियर डिभिजन इञ्जिनीयर भूगर्भविद् श्रीकमल दिवेदी बताउनुहुन्छ । उहाँका अनुसार चेक ड्याम निर्माण गरेपछि खोलाको सतह एक मिटरमाथि उठेको छ र जमिनमुनिका प्वालसमेत बन्द भएका छन् । 

अर्मलाको जमिनको प्राकृतिक बनोट कमजोर रहेको र त्यहाँ मानवीय त्रुटि पनि बढेकाले यसको रोकथामपछि अहिले भ्वाङ पर्न रोकिएको उहाँले बताउनुभयो । चेकड्याम निर्माण हुनुअघि सेताम्मे देखिने कालीखोलो अहिले सङ्लिएको छ । खोलामा छ वटा चेकड्याम तथा दुहुनी खहरे खोलाको निकास खोल्न रु पाँच करोड ५० लाखभन्दा बढी रकम खर्च भएको र प्रदेश र स्थानीय सरकारबाट थप तीनवटा चेकड्याम निर्माण गरिएको बताउनुभयो ।  

“अर्मलाको त्यो स्थानको भू–गर्भ कमजोर हुनुका साथै भित्री सतहमा कमेरो माटो रहेको छ” ‘जियोलोजिष्ट’ दुवेदीले भन्नुभयो, “जमिनमुनिको भित्री भागमा पसेको पानीले कमेरो माटो पगालेपछि बाहिरी भाग भासिन शुरु भएको टोलीको अनुमान थियो ।”

जलउत्पन्न प्रकोप व्यवस्थापन विभागले दायाँबायाँबाट पानी जमिनभित्र पस्न नदिन दुहुनी खोलामा सिमेन्टेड नहर निर्माण गरिएको बताउँदै उहाँले फाँटमा परेका भ्वाङमा ढुङ्गा र माटो हालेर पुर्न तत्कालीन जिविस कास्कीले स्थानीय बासिन्दालाई सघाएको बताउनुभयो । नेपालमा यस प्रकारको प्रकोप पहिलो भएकाले यो रोकथामको प्रयासले बस्तीसँगै अन्न भण्डारकैरुपमा रहेको फाँट बचाउन सफल भएको अनुभव उहाँको छ । 

प्रधानमन्त्री राहत कोषबाट प्राप्त रु दुई लाख र स्थानीय जनसहभागिताको रु ६० हजार परिचालन गरी फाँटमा परेका भ्वाङ पुर्नुका साथै संरक्षणका लागि कालीखोलामा ग्याबिन वाल निर्माण गरिएको अर्मला दैविक प्रकोप विपद् व्यवस्थापन समितिका उपाध्यक्ष प्रकाश भट्टराईले जानकारी दिनुभयो ।

अहिले फाँटमा रोपाइँको चटारो छ र बस्ती पनि सुरक्षित रहेको उहाँले सुनाउनुुभयो । छ वर्षअघिको काहालीलाग्दो अवस्था सम्झँदा यो सम्भव नहुनेजस्तो देखिएको उहाँको अनुभव छ । गण्डकी प्रदेश सरकारको रु ८० लाख सहयोगबाट कालीखोलाको माथिल्लो भागमा अर्को चेक ड्याम निर्माण एवं तटबन्धको काम भइरहेको छ ।

भ्वाङका कारण छ वर्षपछि पहिलो पटक सबै खेत रोपिएको लामाचौरका कृषक शिव बानियाँ बताउनुहुन्छ । जग्गामा भ्वाङ परेपछि प्रत्येक वर्ष पुर्दै आएको र यस वर्ष मात्र रोपाइँ सम्भव भएको भन्दै उहाँले सो खेतमा आफूले १८ मुरी जेठोबुढो धान उत्पादन गर्ने गरेको बताउनुभयो । 

विशेषगरी बिर्ताखेत भ्वाङको मुख्य केन्द्र थियो । त्यसबाहेक जोगीमणि गाउँका घरतिर पनि यसको समस्या थियो । यसबाट १०९ घर उच्च जोखिममा थिए । कृषकले फाँटमा धानखेतीबाहेक मकैसहित मौसमी तथा बेमौसमी तरकारीखेतीसमेत गर्दै आएका छन् । अहिले पनि फाँटमा रोपाइँ गर्दा कतैबाट कहिलेकाहीँ कमेरो बगेको सेतो पानी कालीखोलामा देखिने गरेको बताउँदै स्थानीय सीता आचार्यले त्यस्ता प्वाललाई बेलैमा अनुसन्धान गरेर समस्याको समाधान गर्न आग्रह गर्नुभयो । 

पोखरा महानगरपालिकाले गत आर्थिक वर्षको रु ४० लाखको लगानीमा  कालीखोला र घुरकुनाको सङ्गमस्थलमा दुई वटा चेकड्याम निर्माण गरेको पोखरा– १६ का वडाध्यक्ष जीवन आचार्यले बताउनुभयो । फाँट र बस्तीको संरक्षणका लागि वडाकोतर्पmबाट आवश्यक सहयोग रहेको उहाँको भनाइ छ ।

“पर्यटकीय क्षेत्र बाटुलेचौरस्थित महेन्द्रगुफाभन्दा पूर्वपट्टि रहेको यस फाँटमा धानमध्येकै अब्बल मानिने जेठोबुढोको बीउ उत्पादन गरिएको छ”, उहाँले भन्नुभयो, “विशेषगरी कालीखोलाको पूर्वपट्टिको भागमा कृषि ज्ञान केन्द्र स्याङ्जाको सहयोगमा स्थानीय किसानले सो धानको बीउ उत्पादन गर्ने गरेका छन् ।”

सन् १९९० मा जर्मन भूगर्भविद् टोलीमार्पmत गरिएको एक अध्ययनले अर्मला ठूलोबेंसी फाँटको भू–गर्भ कमजोर रहेको देखाउनुका साथै टोलीले सो क्षेत्रमा बस्ती बसाल्न नहुने सुझावसमेत दिएको थियो । सो फाँटमा पानी कम लाग्ने जातको धानबाली लगाउनुपर्नेसमेत उक्त प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न बहानामा मुलुकका नदी तथा खोला दोहन तीव्ररुपमा भएका कारण खोला गहिरिँदै गएको र ठूला शहरबस्तीसमेत जोखिममा पर्दै गएका छन् । नदीजन्य वस्तु निकासीमा रोक लगाएर गहिरिएका खोला तथा नदीमा आवश्यकताअनुसारका चेकड्याम निर्माण नगर्ने हो भने अर्मलाको ठूलोबेंसी फाँटको नियति अन्यत्रको जमिनले पनि भोग्नुपर्ने हुनसक्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी