2026-07-24 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेरोजगारीको समस्या झेल्दै भारतबाट फर्किएकाहरु

सिद्धराज भट्ट । साउन २६, सुदूरपश्चिम । कोरोनाको सन्त्राससँगै दिल्लीबाट फर्किनुभएका कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका टेकबहादुर नेपाली मजदुरीको काम नपाउँदा परिवार कसरी पाल्ने भन्ने चिन्तामा हुनुहुन्छ । काम नपाएर बेरोजगार बस्नु परेपछि भएको आर्थिक समस्याका कारण उहाँलाई चिन्ता बढेको हो । केही वर्षदेखि दिल्लीको एक होटलमा काम गर्दै आएका नेपाली कोरोनाको त्राससँगै होटल बन्द गरिएपछि चैत महिनामा घर फर्किनुभएको थियो । 

उहाँ आफ्नै गाउँठाउँमा मजदुरी गरेर कमाइ गर्ने सोचमा हुनुहुन्छ तर मजदुरीको काम पाउनुभएको छैन । “कोरोनाका कारण भारतबाट फर्किन बाध्य भएँ, कमाएको जति सकियो, अब परिवारका ११ जना सदस्यलाई कसरी पाल्ने”, दुःखेसो गर्दै उहाँले भन्नुभयो, “आफ्नै ठाउँमा केही काम गर्ने सोच भए पनि कसैले ऋण दिँदैन ।” गत चैत ७ गते घर फर्किएका नेपालीले सिलाइकटाइ गर्ने आफ्नो पुख्र्याैली पेशा भए पनि सिलाइ मेसिन खरिद गर्न पैसा नहुँदा त्यसै बेरोजगार बनेको बताउनुभयो ।

दिल्लीबाट फर्किनुभएका कृष्णपुर नगरपालिका वाणी गाउँका युवा वीरेन्द्र कठायत पनि परिवार कसरी पाल्ने भन्ने चिन्तामा हुनुहुन्छ । उक्त गाउँमा कठायतसहित करीब ५० युवा भारतमा देखिएको कोरोनाको त्रासपछि वैशाख महिनामा पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै घर फर्किएका थिए । “काम नपाएपछि यतिबेला टोलमा भलिबल खेलेर दिन बिताउने गरेका छौँ”, कठायतले भन्नुभयो, “भारतमा काम पाउँदा हुने कमाइ घर पठाउँदा परिवार पाल्न सहज थियो, अहिले कमाइ बन्द हुँदा परिवार पाल्न गाह्रो भयो ।”

कोरोनाको समस्या हटेपछि पुनः दिल्ली जाने योजना रहेको कठायतले सुनाउनुभयो । कोरोनाको कहरसँगै घर फर्किन बाध्य भएका धेरै सुदूरपश्चिमवासीले अहिले बेरोजगारको समस्या झेलिरहेका छन् । सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको मुख्य गन्तव्य भारत हो तर कोरोनाको सन्त्रासका कारण गत चैत महिनायता धेरै नेपाली भारतबाट स्वदेश फर्किएका छन् । यो प्रदेशबाट झण्डै चारदेखि पाँच लाख सुदूरपश्चिमवासी भारतका विभिन्न शहरमा काम गरिरहेको अनुमान छ । भारतका विभिन्न शहरमा होटल, सुरक्षा, यातायात र निजी कम्पनीमा बढी सङ्ख्यामा नेपाली कार्यरत रहेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी कोरोनाको त्राससँगै चैत महिनायता एक लाख चार हजार सुदूरपश्चिमवासी भारतबाट फर्किएको बताउनुहुन्छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षको बजेट कार्यक्रममार्फत कोभिड–१९ को सङ्कटका कारण बेरोजगार बनेका युवाका साथै प्रभावित कृषकलाई लक्षित गरी व्यवसायमुखी र आत्मनिरभरतर्फ उन्मुख गराउन कृषि कार्यक्रम ल्याएको छ । यद्यपि सरकारले बेरोजगार युवाका लागि ल्याएको कृषि कार्यक्रमका बारेमा यी युवा अनभिज्ञता प्रकट गर्दछन् । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्मा कोभिड–१९ को सङ्कटका कारण बेरोजगार बनेका युवा र कृषकलाई कृषि कार्यमा सहभागी गराउन व्यसायमुखी कार्यक्रम कार्यान्वयन गर्न लागिएको बताउनुहुन्छ । यो कार्यक्रम कार्यान्वयनका लागि कृषक र बेरोजगार युवालाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने, मल बीउबिजन, सिँचाइलगायत अनुदान दिने गरी मन्त्रालयले चालु वर्षमा कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको छ । 

यसका लागि मन्त्रालयले कोरोनाका कारण प्रभावित भएका किसान र स्वदेश भित्रिएर बेरोजगार बनेका युवाको विवरणसमेत स्थानीय तहसँग समन्वय गरी सङ्कलन गर्ने तयारी गरिरहेको जनाइएको छ ।

प्रदेश सरकारले चालु आव ०७७/७८ मा प्रस्तुत गरेको बजेट नीति कार्यक्रममा कोभिड–१९ को महामारीबाट प्रभावित नागरिकलाई राहत पुग्ने, गरिबी न्यूनीकरण गर्ने, कोभिड–१९ को सङ्क्रमणका कारण अर्थतन्त्रमा परेको प्रतिकूल असरको क्षति न्यूनीकरण गर्ने, अर्थतन्त्रको पुनरोत्थानमा टेवा पुर्याउने र स्वास्थ्य सुरक्षा प्रदान गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

यस्तै रोजगारी गुमाएका नागरिकको आयआर्जन बढाउँदै उनीहरुको ज्ञान सीप क्षमताको प्रयोग गरी कृषि तथा गैरकृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने र अर्थतन्त्र गतिशील बनाउने जस्ता क्रियाकलाप सञ्चालनमा समेत बजेटले प्राथमिकता दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक