सभामुख डोलप्रसाद अर्यालको तर्फबाट शिलान्यास हुने आयोजनाको स्थल शिलान्यास कार्यक्रममा धादिङ र गोरखाका स्थानिय तहका प्रमुख तथा दुवै जिल्लामा सांसदहरु उपस्थिति हुने भएका छन् ।

कम्पनीका अनुसार शिलान्यास कार्यक्रम आगामी मंसिर ९ गते बुधबार अपराह्न २ बजे गोरखाको गण्डकी गाउँपालिका–८, सिउरेनीटारस्थित आयोजनाको फिल्ड कार्यालय परिसरमा आयोजना हुनेछ ।
बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना धादिङ र गोरखाको सीमाक्षेत्रमा निर्माण गर्ने प्रस्तावित राष्ट्रिय गौरवको आयोजना हो । लामो समयदेखि चर्चामा रहे पनि आयोजना निर्माणको मुख्य काम अघि बढ्न नसकेको अवस्थामा स्थायी कार्यालय, आवास भवन तथा पुल निर्माणको शिलान्यास कार्यक्रम हुन लागेको हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले लामो समयदेखि आयोजनाको निर्माण कार्य अघि बढ्ने प्रतीक्षा गरिरहेका छन् । यस्तो अवस्थामा पूर्वाधार निर्माणको शिलान्याससँगै मुख्य आयोजनाको निर्माण प्रक्रिया पनि छिट्टै सुरु हुनसक्ने आशा गरिएको छ ।