२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महामारीमै भारत जानेहरु भन्छन्-‘रोगभन्दा भोकको चिन्ता भयो’

२०७८, १३ श्रावण बुधबार १०:०५

शेरबहादुर सिंह । साउन १३, महेन्द्रनगर । शिरमा ढाका टोपी, निधारमा रातो टीका अनि मलिन अनुहार लिएर भारतको देहरादुन मजदूरीका लागि जान हिँडेका बझाङ थलाराका ५४ वर्षीय देवराज उपाध्याय मङ्गलबार दिउँसो कञ्चनपुरको गड्डाचौकीमा भेटिनुभयो ।

कोरोना सङ्क्रमण बढ्दा दुई महिनाअघि मात्रै स्वदेश फर्किएका उपाध्यायको आर्थिक अवस्थाले पुनःभारत जाने बाध्यता आइलाग्यो । “घरमा आयआर्जन केही छैन्”, गड्डाचौकीबाट सीमावर्ती भारतीय बजार बनबासा जाँदै गरेका उपाध्यायले भन्नुभयो, “कोरोनाको डर मानी क्यार्नु, परानी कसरी पाल्नु घर बसी ?”


उहाँले परिवारका सदस्यको सहमतिमा कोरोना त्रासका बीच आफू रोजगारीका लागि भारत जान हिँडेको बताउनुभयो । “घरमा जीविका चलाउन गाह्रो भएपछि परिवारका सदस्यले नै यहाँ बसेर कसरी खर्च चल्छ भने”, उहाँले भन्नुभयो, “हामीलाई त कोरोना भन्दा भोकले मर्ने स्थिति आइलाग्यो ।” उपाध्यायसित देहरादुन जान हिँडेका गाउँका अन्य तीन युवा समेतसँगै हुनुहुन्थ्यो ।

त्यसैगरी कक्षा ८ मा अध्ययनरत १५ वर्षीय छोरा उपेन्द्र बटालासहित ३६ वर्षीया गर्वा बटाला पनि भारतको सिमला जाँदै हुनुहुन्थ्यो । “कोरोनाले स्कुल बन्द भएपछि दुई÷चार महीनाको कमाइले घरखर्च त चल्ला भनेर दुई छोरी छाडेर सिमला जाँदैछु”, यहाँको बेदकोट नगरपालिका–३ दैजीका बटालाले रासससित भन्नुभयो, “श्रीमान् नौ वर्षअघि बित्नुभयो, छोराछोरीको छाक टार्न भारत जानु नियती नै हो ।” बटालाले गाउँका मान्छेसितको साथमा सिमला जान लागेको बताउनुभयो ।

“सिमलामा पनि सजिलो काम छ भनेर गाउँलेले बोलाएपछि त्यहाँ जान हिँडेका हौँ ”, उहाँले भन्नुभयो, “कोरोनाको डर मानेर के गर्नु, खान त चाहियो नी ।” उहाँले आफूसित दैजीमा घरबासका लागि आधा कठ्ठा जग्गा मात्रै भएको बताउनुभयो । दैजीको शारदा माविमा अध्ययनरत उपेन्द्रले परिवारको आर्थिक समस्याले आफू पनि भारत जान लागेको बताउनुभयो ।

“हाम्रो गाउँका धेरै विद्यार्थी अहिले स्कुल बन्द हुँदा भारत मजदूरीका लागि गइरहेका छन्”, उहाँले भन्नुभयो, “आमा यहाँ हुँदा अरुको घर, इँटाभट्टामा काम गरेर छाकको जोहो गर्नुहुथ्यो ।” गत चैतमा कोरोनाको दोस्रो लहरले भारत आक्रान्त भएपछि स्वदेश फर्किएका नेपाली पुनः रोजगारीका लागि भारत जान थालेका छन् ।

सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य सदियौंँदेखि भारत हो । चाडपर्व र खेतीबारीका बेला स्वदेश फर्किने तथा अरुबेला भारतमा रोजगारी गर्ने यहाँका स्थानीयवासीको परम्पराको रुपमा विकास हुँदै  गएको थियो । पछिल्लो समय कोरोना कहरमा सुदूरपश्चिमका मात्रै करीब दुई लाख भन्दा बढी नागरिक स्वदेश फर्किएको तथ्याङ्क छ ।

त्यसैगरी दैजीकै १६ वर्षीय हिक्मत धामी कोरोनाको सङ्क्रमणका बीच भारतको सिमला हिँड्नुभएको छ । “बुबा सानैमा भारतको बैङ्लोरमै बित्नुभयो”, धामीले भन्नुभयो, “कोरोनाको अवस्था सामान्य बन्दै स्कुल खुलेपछि फर्किने योजनामा छु ।” धामी पनि कक्षा ८ मा अध्ययनरत विद्यार्थी हो ।

त्यस्तै भारतको पिथौरागढ मजदूरीका लागि जान हिँडेका सुर्खेतका ५५ वर्षीय प्रेमबहादुर खत्रीको व्यथा पनि उस्तै छ । एक दशकदेखि मजदूरीका लागि भारत आउनेजाने गरेका खत्री कोरोनाको दोस्रो लहरबीच गत वैशाखमा आफू घर फर्किए पनि पुनः त्रासकाबीच भारत जानु बाध्यता भएको बताउनुहुन्छ ।

“उत्तराखण्डमा कोरोनाको सङ्क्रमण कम छ भन्छन्, त्यही भएर पिथौरागढमा सडक निर्माणको काममा जान हिँडेको”, उहाँले भन्नु्भयो, “आफू र परिवारको भोक टार्न बाध्यताले जानै पर्यो  ।” खत्रीसँगै भारत जान लागेका सूर्य गुरुङले आफूहरु दुःखले मुग्लान जान लागेको पीडा सुनाउनुभयो ।

“घरपरिवारसित बस्ने रहर त कस्लाई पो हुन्न र ?”, उहाँले भन्नुभयो, “सरकारले कोरोनाबाट प्रभावितलाई रोजगारी दिने आशा थियो, त्यो त गफ मात्रै रहेछ ।” कोरोना कहर पुनः बढिरहेका बेला यहाँका शैक्षिक सङ्घ–संस्था बन्द हुँदा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी अभिभावकसित भारत जाने क्रम बढिरहेको छ ।

“हाम्रो त सरकारी स्कुल अनलाइन कक्षा पनि पढाइ हुदैन्”, उपेन्द्रले भन्नुभयो, “दुई महीना पनि भारतमा काम गरे केही समय खानलाई त आउला भनेर जान लागेको हुँ ।” विद्यालयमा अध्ययन निःशुल्क भए पनि घरमा छाक टार्न आमाले गर्ने सङ्घर्ष सम्झिँदै भावुक बनेका उहाँले भन्नुभयो, “आमाले मजजूरी गरेनन् भने घरमा चुल्हो नै बल्दैन् ।” 

गड्डाचौकीस्थित थ्री एन्जल्स नेपालका संयोजक बेलु वादी लकडाउन सामान्य बन्दै गएपछि महिला र बालबालिका पनि भारत जाने क्रम बढेको बताउनुहुन्छ । “असार १५ गतेयता मात्रै हामीले सातजना उमेर नपुगेका बालबालिकालाई नाकामा रोकेर परिवारसँग  पुनःमिलन गरायौँ”, उहाँले भन्नुभयो, “महिला पनि पछिल्लो समय रोजगारीका लागि भारत जाने क्रम ह्वात्तै बढेको छ ।”

उहाँले बन्दाबन्दीमा पनि महिला तथा बालबालिका बेचबिखनको जोखिम बढेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले कोरोनाको चरम अवस्थामा नेपाल–भारतमा आवागमन खुकुलो भएसँगै रोजगारीका लागि भारत जाने क्रम बढेको बताउनुभयो ।

सुदूरपश्चिमका सीमानाकामा सबैभन्दा बढी कञ्चनपुरको पूर्वी गौरीफन्टा नाकाबाट भारत जानेको चाप बढेको प्रहरीको भनाइ छ । मङ्गलबार गड्डाचौकीबाट ४४३ र गौरीफन्टाबाट एक हजार ४२३ व्यक्ति भारत गएको प्रवक्तासमेत रहनुभएका न्यौपानेले बताउनुभयो । पछिल्लो समय गड्डाचौकी नाकाबाट भारत जानेका लागि भारतीय सुरक्षा निकायले पनि सहज बनाएको छ ।

केही समयअघिसम्म यो नाकाबाट भारत जान कोरोना परीक्षण रिपोर्ट अनिर्वाय गरेपछि भारतीय पक्षले नागरिकता र आधार कार्डका आधारमा भारत जान दिएको छ । (तस्बीर उपलब्ध छ)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी