माघ १६, भैरहवा (रासस) । जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान छ । अन्तर्राष्ट्रिय उडान ठप्प छ भने राष्ट्रिय उडान पनि न्यून हुँदा विमानस्थलमा चहलपहल न्यून भएको छ ।

आन्तरिक टर्मिनलतर्फ केही चहलपहल देखिए पनि अन्तर्राष्ट्रिय टर्मिनलतर्फ कर्मचारीदेखि सुरक्षा निकायका कर्मचारी फुर्सदिला देखिएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको स्वीकृति लिएको जजीरा एयरलाइन्सले अहिले काठमाडौँबाट नै आफ्नो उडान गरिरहेको छ । भैरहवाबाट उड्न टिकट काटेका यात्रुलाई जजीराले बसमार्फत काठमाडौँ बोलाएर उतैबाट उडान गरिरहेको छ ।

विमानस्थल निर्माणपछि यहाँका निजी क्षेत्र निकै उत्साही देखिएका थिए । जसको फलस्वरूप यहाँ अर्बाैको लगानीमा होटल तथा पर्यटनसँग सम्बन्धित अन्य पूर्वाधार निर्माण गरिएका छन् । विमानस्थल सञ्चालनमा आएको अन्योलका कारण यहाँका निजी क्षेत्र पनि निराश छन् । विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रबाट जुन प्रकारको पहल हुनुपर्ने हो त्यो भने हुन सकेको छैन ।

विमानस्थल सञ्चालनसँग जोडिएको सुविधा यहाँ नहुँदा पनि हवाई कम्पनीले उडानमा चासो दिएका छैनन् । भैरहवामा श्रम कार्यालय खुले पनि यसमा सहयोग गर्ने मेनपावर, भिसा सेन्टर, स्वास्थ्य परीक्षणलगायत सुविधा नहुँदा यात्रु काठमाडौँबाट नै उडान भर्न रुचाउने गरेका छन् । यी सुविधा ल्याउन यहाँका निजी क्षेत्रमा कुनै चासो नै छैन ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले निजी क्षेत्रले पहल गरे पनि त्यो पर्याप्त भने नरहेको बताउनुभयो । “यात्रुलाई रातिमा विमानस्थलसम्म आउने यातायातको साधन छैन, कहिले ट्रकमा त कहिले पैदल नै आउनु परिरहेको छ”, झाले भन्नुभयो, “विदेश जाने यात्रुले सकेसम्म सस्तोमा सुविधा खोजिरहेको हुन्छ, यसतर्फ पनि निजी क्षेत्रको ध्यान जानुपर्छ ।”

विमानस्थलमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ । विमानस्थल सञ्चालनमा सहज हुने खालका पर्यटकीय गतिविधि बढाउनुपर्ने, चार्टर उडानहरूलाई भैरहवाबाट गर्न पहल गर्ने खालका क्रियाकलाप गर्न उहाँले निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

निजी क्षेत्रको छाता सङ्गठनले यसको सञ्चालनमा निजी क्षेत्रले पहल गरिरहेको दाबी गरेको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाका अध्यक्ष भीष्म न्यौपाने विमानस्थल सञ्चालनमा भारतको भूमिका अहम रहेको कारण यसलाई सरकारबाट नै पहल गर्नुपर्ने बताउनुहुन्छ । उहाँले यसका लागि नेपालका सम्बन्धित निकायमा पहल गरिरहेको दाबी गर्नुभयो । “तत्कालै नयाँ सरकार गठन भएको छ, प्रधानमन्त्रीले भारत भ्रमण गर्ने क्रममा विमानस्थल सञ्चालनमा सहजता ल्याइदिन निजी क्षेत्रले प्रधानमन्त्रीलाई लबिङ गरिरहेको छ”, न्यौपानेले भन्नुभयो, “यही विषयलाई लिएर प्रधानमन्त्री र पर्यटनमन्त्री समक्ष डेलिगेशन जाने तयारी पनि गरिरहेका छौँ ।”

नेपाल सरकारले जजीराको भर मात्र नपरी नेपाल एयरलाइन्सलाई यहाँबाट उडाउनुपर्ने न्यौपानेको तर्क रहेको छ । उहाँले विमानस्थल सञ्चालनलाई नै लिएर निजी क्षेत्रले यहाँ अर्बाैंको लगानी डुब्ने अवस्थामा रहेको बताउँदै यसबाट जोगिन पनि विमानस्थल सञ्चालन गर्न आफूहरूको निरन्तर प्रयास रहने जिकिर गर्नुभयो ।

उद्योग व्यापार सङ्गठन रुपन्देहीका निर्वतमान अध्यक्ष नारायणप्रसाद भण्डारी विमानस्थल सञ्चालनका लागि सबै सङ्घसङ्गठनले साझा अवधारण बनाएर अगाडि बढ्नुपर्ने बताउनुहुन्छ । उहाँले यसका लागि आफूले पनि पहल थालिसकेको बताउनुभयो । यहाँका निजी क्षेत्र, ट्राभल एजेन्सी एवं पर्यटनसँग सरोकार राख्ने निकायको सहकार्यले मात्र विमानस्थल सञ्चालनमा ल्याउन सकिने बताउनुभयो ।

हाल अन्तर्राष्ट्रिय उडान गरिरहेका जजीरा एयरवेज र हिमालय एयरलाइन्सले आफ्नो उडान रोकेका छन् भने आन्तरिक उडान नियमित हुन सकिरहेको छैन । जजीरा एयरलाइन्सले पुस ३ गतेदेखि र हिमालय एयरलाइन्सले मङ्सिर २९ गतेदेखि उडान बन्द गरेका छन् । जजीराले माघ २७ गतेसम्मको समय थप गरेको विमानस्थलका प्रवक्ता झाले जानकारी दिनुभयो । जजीराले डिसेम्बरसम्म मात्र उडान रोकेको जनाएको र अहिलेसम्म सञ्चालनमा नआएकाले जजीराले यो सूची अझै लम्ब्याउन सक्ने सम्भावना रहेको छ । सम्भवतः फागुनको ७ गतेदेखि जजीराले पुनः भैरहवाबाट नै उडान गर्ने सम्भावना रहेको विमानस्थल स्रोतको भनाइ छ ।

करिब आठ सय बिघामा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलोमिटरको रनवे रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहको उडान र अवतरण हुन सक्ने यहाँ चार वटा न्यारोबडी र एउटा वाइडबडी गरी पाँच वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सकिन्छ ।

भैरहवा विमानस्थलमा हाल अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षित गर्न अवतरण शुल्क, विशान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ । नेपाल वायु सेवा निगमले लिने ग्राउण्ड ह्याण्डलिङ सेवा शुल्कमा कात्तिक १५ गतेदेखि लागू हुने गरी ५० प्रतिशत छुट दिइरहेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म एक सय ५४ अन्तर्राष्ट्रिय उडान र त्यति सङ्ख्यामै अवतरण भएका छन् । यस अवधिमा १३ हजार पाँच सय ९३ यात्रु आएका र १८ हजार २५ यात्रु गएको गरी जम्मा ३१ हजार छ सय १८ यात्रुले विमानस्थल प्रयोग गरेको विमानस्थलका प्रवक्ता झाले बताउनुभयो ।

सुनसान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट उड्न टिकट काट्नेहरुलाई काठमाडौँ ल्याइदै
Leave a Comment