२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले फेरि ‘साक्षर नेपाल’ अभियान चलाउने

२०७५, २४ पुष मंगलवार ०८:५६

प्रकाश सिलवाल | पुस २४, काठमाडौँ (रासस) | विगतमा पनि घोषणा भएर पूरा हुन नसकेको ‘साक्षर नेपाल’ अभियान अब आगामी वर्ष २०७६ का लागि निर्धारण गरिएको छ । नेपाल सरकारले विसं २०७२ मै साक्षर नेपालको लक्ष्य लिई लगातार साक्षरताका कार्यक्रम जारी राखेपनि हालसम्म मुलुक साक्षर हुन नसकेपछि सरकारले पुनः अभियानको घोषणा गरेको हो । 

अभियानले १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकलाई न्यूनतम साक्षरताको अवसर प्रदान गरी विसं २०७६ भित्रमा साक्षर नेपाल घोषणा र सबै नेपाली नागरिकका लागि जीवनपर्यन्त सिकाइको आधार तयार गर्ने लक्ष्य लिएको छ । 

‘इच वान, टिच वान’ 

सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा आगामी दुई वर्षभित्र ‘साक्षर नेपाल’ घोषणा गर्ने लक्ष्य लिएबमोजिम यही पुस १६ गतेको मन्त्रिपरिषद्को बैठकले आउँदो वर्ष २०७६ लाई सो अभियान वर्षका रुपमा घोषित गरेको हो । पारित साक्षर नेपाल अभियानको अवधारणामा हरेक एकले अर्काे एक निरक्षरलाई पढाउने (इच वान, टिच वान) लगायतका कार्यक्रम छन् । 

‘समुदाय वा परिवारमा रहेका साक्षर एकजना व्यक्तिले अर्को कम्तीमा एकजना निरक्षर व्यक्तिलाई निश्चित समयमा साक्षर गराउने गरी सञ्चालन गरिन्छ ।’ साक्षर नेपालको अवधारणापत्रमा भनिएको छ, ‘तालीम प्राप्त सहजकर्ताबाट समुदायमा रहेका निरक्षर जम्मा गरी निश्चित सङ्ख्यालाई कक्षामा राखेर सिकाउने ढाँचा पनि अपनाउन सकिनेछ ।’ 

यस प्रणालीअन्तर्गत हिमाली जिल्लामा प्रतिकक्षा १५ जना, तराई, पहाड र उपत्यकामा २० जना सहभागी रहन सक्नेछन् । सिकाइ समयाधि चार महीनाभित्र दैनिक दुुई घण्टाका दरले वा हप्तामा छ दिन वा सहभागीको अनुकूलतामा १५० देखि २०० घण्टासम्म रहने छ । 

तीस जिल्ला साक्षर हुन बाँकी 

सरकारी आँकडाअनुसार विसं २०७५ असारसम्ममा मुलुकका ७७ मध्ये ४७ जिल्ला साक्षर घोषित भएका छन् । हाल युवा साक्षरता (१५ देखि २४ उमेर समूह) ९५ प्रतिशत र प्रौढ साक्षरता (१५ देखि ६० उमेर समूह) ८२ प्रतिशत छ । साक्षर घोषणा हुन बाँकी ३० जिल्लामा पुनःअभियान घोषणा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका प्रमुख गेहनाथ गौतमले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद्बाट स्वीकृत भएको साक्षर नेपालको अवधारणा कार्यान्वयनका लागि कार्यविधि बनाएर लक्षित तह र जिल्लामा अभिमुखीकरण गरिने उहाँले बताउनुभयो । आउँदो फागुनदेखि अभिमुखीकरण आरम्भ गरी नयाँ वर्षदेखि अभियान सञ्चालन गरिनेछ । विगतमा अनौपचारिक शिक्षा केन्द्रले यो अभियान सञ्चालन गर्दै आएको थियो । 

सघन कक्षा आवश्यक पर्ने ‘घ’ समूहमा पर्ने जिल्लामा धनुषा, रौतहट, सर्लाही, सिराहा, सप्तरी, बारा, पर्सा, सोलुखुम्बु, हुम्ला र डोल्पा छन् । ‘ग’ समूहमा मुगु, जुम्ला, कालिकोट, अछाम, बझाङ, बाजुरा, कञ्चनपुर र महोत्तरी छन् । ‘ख’ समूहमा रहेका जिल्ला भने साक्षर घोषणा गर्ने तयारीमा छन् । यी जिल्लामा कैलाली, डोटी, बाँके, काठमाडौँ, कपिलवस्तु र ताप्लेजुङ छन् । ‘क’ समूहमा रहेका काभ्रेपलाञ्चोक, सङ्खुवासभा, उदयपुर, मोरङ, डडेल्धुरा र बैतडीमा चाँडै साक्षर जिल्ला घोषणाको लक्ष्य लिइएको छ । 

कुनै गाउँपालिका, नगरपालिका वा जिल्लामा स्थायी बसोवास गर्ने १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसङ्ख्या साक्षर भएको अवस्थामा सो तहले निर्णय नगरे पनि अभिलेख सत्यापनका आधारमा प्रदेश वा केन्द्रबाट सो क्षेत्रलाई ‘साक्षर’ भएको मान्यता दिन सकिने छ । 

राजनीतिक दललाई पनि परिचालन 

अभियानका लागि साक्षरताको नीति, पद्धति र स्रोत परिचालन विधि नेपाल सरकारबाट तय हुनेछ भने स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र स्थायी बसोवास गर्ने तोकिएको उमेर समूहका निरक्षर जनसङ्ख्याको नामनामेसीसहित विवरण एकिन गर्ने र विद्यालय, सामुदायिक सिकाइ केन्द्र, स्रोतकेन्द्र, विकास साझेदार गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, सञ्चारमाध्यम, अन्य साझेदार परिचालन गरी साक्षरता प्रवद्र्धन गर्नेछ । 

अभियानका लागि प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने हरेक राजनीतिक दललाई साक्षरता अभियानमा आफ्ना संयन्त्र तथा भातृ संस्था परिचालन गर्न आह्वान गरिने अवधारणापत्रमा उल्लेख छ । अभियान सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा १३ सदस्यीय साक्षरता अभियान केन्द्रीय समन्वय समिति गठन गरिनेछ भने प्रदेश, जिल्ला र स्थानीय तहमा पनि सम्बन्धित समिति गठन हुनेछन् । 

साक्षरताको मापन 

अवधारणापत्रले राष्ट्रभाषा वा मातृभाषाका वर्ण÷अक्षरको पढाइ र लेखाइ, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बीलको पढाइ, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग, शून्यदेखि नौसम्मका अङ्क अक्षर लेखाइ, एकदेखि १०० सम्म गणना, लेनदेनका हरहिसाब राख्न सक्नेलाई साक्षर मानिने छ । 

यसैगरी, साक्षर व्यक्तिले सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढाइ र बुझाइ, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन, घडी हेरेर समय बताउन, भित्तेपात्रो हेरी तिथिमिति बताउन तथा बैँक भौचर भराइ र चेक खिचाइ गर्न सक्नु पर्नेछ । माथिमा मापदण्डमा ५० प्रतिशत समकक्षता हासिल गर्न सक्नेलाई साक्षर घोषित गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ