2026-11-02 01:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले फेरि ‘साक्षर नेपाल’ अभियान चलाउने

प्रकाश सिलवाल | पुस २४, काठमाडौँ (रासस) | विगतमा पनि घोषणा भएर पूरा हुन नसकेको ‘साक्षर नेपाल’ अभियान अब आगामी वर्ष २०७६ का लागि निर्धारण गरिएको छ । नेपाल सरकारले विसं २०७२ मै साक्षर नेपालको लक्ष्य लिई लगातार साक्षरताका कार्यक्रम जारी राखेपनि हालसम्म मुलुक साक्षर हुन नसकेपछि सरकारले पुनः अभियानको घोषणा गरेको हो । 

अभियानले १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकलाई न्यूनतम साक्षरताको अवसर प्रदान गरी विसं २०७६ भित्रमा साक्षर नेपाल घोषणा र सबै नेपाली नागरिकका लागि जीवनपर्यन्त सिकाइको आधार तयार गर्ने लक्ष्य लिएको छ । 

‘इच वान, टिच वान’ 

सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा आगामी दुई वर्षभित्र ‘साक्षर नेपाल’ घोषणा गर्ने लक्ष्य लिएबमोजिम यही पुस १६ गतेको मन्त्रिपरिषद्को बैठकले आउँदो वर्ष २०७६ लाई सो अभियान वर्षका रुपमा घोषित गरेको हो । पारित साक्षर नेपाल अभियानको अवधारणामा हरेक एकले अर्काे एक निरक्षरलाई पढाउने (इच वान, टिच वान) लगायतका कार्यक्रम छन् । 

‘समुदाय वा परिवारमा रहेका साक्षर एकजना व्यक्तिले अर्को कम्तीमा एकजना निरक्षर व्यक्तिलाई निश्चित समयमा साक्षर गराउने गरी सञ्चालन गरिन्छ ।’ साक्षर नेपालको अवधारणापत्रमा भनिएको छ, ‘तालीम प्राप्त सहजकर्ताबाट समुदायमा रहेका निरक्षर जम्मा गरी निश्चित सङ्ख्यालाई कक्षामा राखेर सिकाउने ढाँचा पनि अपनाउन सकिनेछ ।’ 

यस प्रणालीअन्तर्गत हिमाली जिल्लामा प्रतिकक्षा १५ जना, तराई, पहाड र उपत्यकामा २० जना सहभागी रहन सक्नेछन् । सिकाइ समयाधि चार महीनाभित्र दैनिक दुुई घण्टाका दरले वा हप्तामा छ दिन वा सहभागीको अनुकूलतामा १५० देखि २०० घण्टासम्म रहने छ । 

तीस जिल्ला साक्षर हुन बाँकी 

सरकारी आँकडाअनुसार विसं २०७५ असारसम्ममा मुलुकका ७७ मध्ये ४७ जिल्ला साक्षर घोषित भएका छन् । हाल युवा साक्षरता (१५ देखि २४ उमेर समूह) ९५ प्रतिशत र प्रौढ साक्षरता (१५ देखि ६० उमेर समूह) ८२ प्रतिशत छ । साक्षर घोषणा हुन बाँकी ३० जिल्लामा पुनःअभियान घोषणा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका प्रमुख गेहनाथ गौतमले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद्बाट स्वीकृत भएको साक्षर नेपालको अवधारणा कार्यान्वयनका लागि कार्यविधि बनाएर लक्षित तह र जिल्लामा अभिमुखीकरण गरिने उहाँले बताउनुभयो । आउँदो फागुनदेखि अभिमुखीकरण आरम्भ गरी नयाँ वर्षदेखि अभियान सञ्चालन गरिनेछ । विगतमा अनौपचारिक शिक्षा केन्द्रले यो अभियान सञ्चालन गर्दै आएको थियो । 

सघन कक्षा आवश्यक पर्ने ‘घ’ समूहमा पर्ने जिल्लामा धनुषा, रौतहट, सर्लाही, सिराहा, सप्तरी, बारा, पर्सा, सोलुखुम्बु, हुम्ला र डोल्पा छन् । ‘ग’ समूहमा मुगु, जुम्ला, कालिकोट, अछाम, बझाङ, बाजुरा, कञ्चनपुर र महोत्तरी छन् । ‘ख’ समूहमा रहेका जिल्ला भने साक्षर घोषणा गर्ने तयारीमा छन् । यी जिल्लामा कैलाली, डोटी, बाँके, काठमाडौँ, कपिलवस्तु र ताप्लेजुङ छन् । ‘क’ समूहमा रहेका काभ्रेपलाञ्चोक, सङ्खुवासभा, उदयपुर, मोरङ, डडेल्धुरा र बैतडीमा चाँडै साक्षर जिल्ला घोषणाको लक्ष्य लिइएको छ । 

कुनै गाउँपालिका, नगरपालिका वा जिल्लामा स्थायी बसोवास गर्ने १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसङ्ख्या साक्षर भएको अवस्थामा सो तहले निर्णय नगरे पनि अभिलेख सत्यापनका आधारमा प्रदेश वा केन्द्रबाट सो क्षेत्रलाई ‘साक्षर’ भएको मान्यता दिन सकिने छ । 

राजनीतिक दललाई पनि परिचालन 

अभियानका लागि साक्षरताको नीति, पद्धति र स्रोत परिचालन विधि नेपाल सरकारबाट तय हुनेछ भने स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र स्थायी बसोवास गर्ने तोकिएको उमेर समूहका निरक्षर जनसङ्ख्याको नामनामेसीसहित विवरण एकिन गर्ने र विद्यालय, सामुदायिक सिकाइ केन्द्र, स्रोतकेन्द्र, विकास साझेदार गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, सञ्चारमाध्यम, अन्य साझेदार परिचालन गरी साक्षरता प्रवद्र्धन गर्नेछ । 

अभियानका लागि प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने हरेक राजनीतिक दललाई साक्षरता अभियानमा आफ्ना संयन्त्र तथा भातृ संस्था परिचालन गर्न आह्वान गरिने अवधारणापत्रमा उल्लेख छ । अभियान सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा १३ सदस्यीय साक्षरता अभियान केन्द्रीय समन्वय समिति गठन गरिनेछ भने प्रदेश, जिल्ला र स्थानीय तहमा पनि सम्बन्धित समिति गठन हुनेछन् । 

साक्षरताको मापन 

अवधारणापत्रले राष्ट्रभाषा वा मातृभाषाका वर्ण÷अक्षरको पढाइ र लेखाइ, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बीलको पढाइ, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग, शून्यदेखि नौसम्मका अङ्क अक्षर लेखाइ, एकदेखि १०० सम्म गणना, लेनदेनका हरहिसाब राख्न सक्नेलाई साक्षर मानिने छ । 

यसैगरी, साक्षर व्यक्तिले सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढाइ र बुझाइ, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन, घडी हेरेर समय बताउन, भित्तेपात्रो हेरी तिथिमिति बताउन तथा बैँक भौचर भराइ र चेक खिचाइ गर्न सक्नु पर्नेछ । माथिमा मापदण्डमा ५० प्रतिशत समकक्षता हासिल गर्न सक्नेलाई साक्षर घोषित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द