असार २३, बलेवा। बागलुङको ऐतिहासिक पर्यटकीय क्षेत्र कौडेको धुरी पुग्ने पदमार्ग निर्माण भएको छ । जिल्लाको बरेङ गाउँपालिका–२ सिग्दीदेखि राजाको दरबारसम्मको पदमार्ग चालु आर्थिक वर्षमा निर्माण भएको हो ।

गाउँपालिकाले चालु आवमा पर्यटकीय गाउँ सिग्दीदेखि कौडे राजाको दरबारसम्म पदमार्ग निर्माण गरेको हो । सामुदायिक घरबास रहेको सिग्दीदेखि कौडेको धुरी पुग्ने पदमार्ग निर्माण कार्यक्रमअन्र्तगत चालु आवमा झण्डै डेढ किलोमिटर पदमार्ग निर्माण गरिएको स्थानीयवासी हीराबहादुर पुनले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकार, गाउँपालिका र डिभिजन वन कार्यालयको संयुक्त योजनाअन्तगैत गाउँपालिकाकै सबैभन्दा लामो पदमार्ग निर्माण भएको हो । चालु आवमा गण्डकी सरकारको रु १० लाख तथा गाउँपालिका र वन कार्यालय बागलुङको रु पाँचपाँच लाख गरी २० लाखको लागतमा पदमार्ग निर्माण भएको पुनले बताउनभयो । स्थानीयवासी युवा परिचालन गरेर उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको थियो ।

बरेङ, गुल्मीको कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाको सङ्गमस्थलमा रहेको दुई हजार ६ सय मिटर अग्लो कौडेको धुरी जान यो पदमार्गले सहज हुने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । सिग्दी सामुदायिक घरबासमा आउने पर्यटकलाई कौडेको धुरी र राजाको दरबारजस्ता मनोरम प्राकृतिक पर्यटकीय क्षेत्रमा पु¥याउने योजना गाउँपालिकाले बनाएको छ ।

ऐतिहासिक कौडेको धुरी, राजाको दरबार क्षेत्रमा पालिकाले आवश्यक पूर्वाधार व्यवस्थित बनाउन बरेङ विस्तृत परियोजना प्रस्ताव तयार गरेर संरचना निर्माणका काम थालेको छ । नेपालको बाइसे–चौबीसे राज्यका पालामा कौडेको धुरीमा भुरे राजाको दरबारका भग्नावशेष र पुरातात्विक शिलालेख अझै देख्न सकिन्छ । कौडेको धुरीबाट नेपालका झण्डै २० जिल्लाका भञ्ज्याङ र खोँचको पनि अवलोकन गर्न सकिन्छ ।

ऐतिहासिक पुरातात्विक महत्वले भरिपूर्ण कौडेको धुरीमा विभिन्न प्रजातिका जडिबुटी पनि पाइन्छ । दुर्लभ जडिबुटीको चोरीनिकासी रोक्न र संरक्षण गर्न सिग्दी सामुदायिक घरबासले विशेष पहल गर्दै आएको छ । सिग्दी सामुदायिक घरबासदेखि कौडेराजाको दरबार पदमार्ग पुग्न अझै एक किमी पदमार्ग निर्माण गर्न बाँकी रहेको होमस्टेका एक सदस्यले बताए । रासस

Related News