पढ्न करिब 3 मिनेट लाग्छ

असोज १३, कर्णाली । गाडीमुनि उत्तानो परेर एउटा बालकले पाटपूर्जा बनाइरहेको दृश्य हामी कमैले देखेका हौंला । यो दृश्य देख्दा धेरैलाई अचम्म लाग्छ । यद्यपि शुभकालिका गाउँपालिका–४ (साविक सुकाटिया २) कालीकोटका खेमराज चौलागार्इं १६ वर्षे उमेरदेखि जहाँ गाडी बिग्रन्छ, मिस्त्रीका रुपमा बोलाइनुहुन्छ र सधैझैं उत्तानो परेर गाडी बनाइरहेको देखिनुहुन्छ ।

आजभोलि धेरै अभिभावकका बालबालिका सामाजिक सञ्जालमा गेम खेलेर, गीत बजाएर, युट्युब हेरेर, कमेन्ट गरेर दिन बिताइरहेका घटना खोज्न जानुपर्दैन । यस्तो परिवेशमा बालक चौलागार्इंले भने आफूलाई बाल अवस्थामै श्रमसँग जोडेर आत्मनिर्भर बनाउने एउटा असामान्य चरित्रका रुपमा उभ्याउनुभएको छ ।

पाँच कक्षासम्म कर्णाली अङ्ग्रेजी बोर्डिङ स्कुल ताडी कालीकोटमा अध्ययन गर्नुभएका उहाँले ७ देखि १० कक्षासम्म जनजीवन मावि ताडी र हाल १२ कक्षाको अध्ययन पनि सोही विद्यालयमा गर्दै आउनुभएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गर्दा गणित विषयको ट्युसन शुल्क तिर्न नसक्दा आर्थिक उपार्जनको विकल्प खोज्ने क्रममा मिस्त्री काम शुरु गरेको चौलागाईंले बताउनुभयो ।

“गरिबीका कारण दुई वर्षअघि कक्षा १० मा गणित विषयको ट्यूसन पढ्दै गर्दा शिक्षकले मागेको शुल्क तिर्न सकिन, निकै हिनता बोध भयो”, उहाँले भन्नुभयो, “घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइमा अवरोध आउन थालेपछि कमाएर पढ्ने विकल्प खोज्दा पासाङ् अटोपार्ट्स कालीकोटमा मिस्त्रीको काम मिल्यो ।” पछि त्यहीँ कामबाट आर्थिक जोहो हुन थालेको उहाँले बताउनुभयो ।

शुल्क तिर्न नसकेका कारण एसइई परीक्षा दिँदा गणित विषयमा फेल भएको तितो अनुभूति सुनाउँदै उहाँले ११ कक्षाको परीक्षामा एक महिना बिदा लिएको र नतिजा ‘बी प्लस’ आएको बताउनुभयो । कोरोना महामारीका कारण भने १२ कक्षाको पढाइ र परीक्षा दुबै अन्योल अवस्थामा रहेको उहाँको भनाइ थियो ।

उमेर सानो देखिए पनि उहाँको काम ४० वर्षको व्यक्तिले गर्ने भन्दा कम छैन । गाडीको फोहर र जमिनको धुलोमा लट्पटिएर बिग्रेका पाटपूर्जा बनाउनु चौंलागाईंको दैनिकी बनेको छ । जहाँ जतिबेला गाडी बिग्रन्छ, चालकको आग्रहमा त्यसको ममर्त गर्ने र नयाँ पाटपूर्जा हालेर सञ्चालनमा ल्याउने काम उहाँले गर्दै आउनुभएको छ । अहिले चौलागार्इंलाई सफल अटोपार्ट्सको काम भ्याइनभ्याई छ ।

बाह्र कक्षामा अध्ययनरत चौलागार्इं अहिले १८ वर्षतिर लाग्नुभयो । दुई वर्ष अघिदेखि सङ्घर्षको यात्रा थाल्नुभएका उहाँले गरिबीका कारण आफ्नो जीवनको इञ्जिनीयर बन्ने धोको अधुरो बनेको दुखेसो गर्नुभयो । “घरमा एक दिदीसहित चार बहिनी छन् । बुबा कवाडी काम गर्नुहुन्छ । आमा गृहणी हुनुहुन्छ”, उहाँले भन्नुभयो, “जग्गा जमिन नहुँदा परिवारको जीवन गुजारा गर्न मेरो कामले सघाएको छ ।”

हाल चौलागाईंले सफल अटोपार्ट्स कालीकोटमा काम गरिरहनुभएको छ । भोक, गरिबी, अभाव, अशिक्षा र उत्पीडनले जीवनमा केही गर्ने अवसर प्रदान गर्दोरहेन्छ भन्ने अनुभव उहाँलाई मिलेको छ । चुनौती र समस्यालाई अवसरमा बदल्ने समाजमा फरक इतिहास निर्माण गर्छन् भन्ने बुझेको बताउँदै चौलागार्इंले इञ्जिनीयर बन्ने सपना तुहिए पनि गाडी इन्जिनीयर बन्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिनुभयो ।

दिदी टाउकोको बिरामी हुँदा कसरी उपचार गर्ने भन्ने कुराले अहिले पिरोल्दै आएको उहाँले बताउनुभयो । अन्य चार बहिनीको पढाइ खर्च पनि उहाँले नै ब्होर्दै आउनुभएको छ । यद्यपि बाल्यकालमै श्रमसँग जोड्नुभएका उहाँको कामले आत्मनिर्भर बन्न उमेरले छेक्दैन भन्ने सन्देश दिएको छ । रासस