२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बन्द भयो ३२ वर्ष पुरानो शुभतारा स्कुल, अभिभावकद्वारा विरोध

२०७८, १८ जेष्ठ मंगलवार ०५:३५

रमेश गिरी । जेठ १८, काठमाडौं (रासस) । जङ्गलको नजिकै शान्त, पारिवारिक वातावरण, सिङ्गो गाउँजस्तै आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वस्थवर्धक खानाको उत्कृष्ट पहिचान बनाउन सफल ३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने भएको छ ।

अभिभावकसँग कुनै समन्वय नै नगरी ललितपुरको महालक्ष्मी नगरपालिका लामाटारमा सञ्चालित यस विद्यालय व्यवस्थापनले अचानक बन्द गर्ने निर्णय पठाएपछि यतिखेर यहाँ पढ्ने विद्यार्थी र अभिभावक निकै चिन्तामा परेका छन् । स्कूलका संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले बिहीबार मध्यराति अभिभावकहरुलाई इमेल पठाएर आगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी पठाएपछि रातभरि सुत्न नसकेको अभिभावक बताउँछन् ।


अभिभावक रुपेश महर्जन अभिभावकहरुसँग कुनै समन्वय नै नगरी अचानक राति १२ बजे इमेल आएपछि रातभरि बच्चा र आफू चिन्तामा परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बिहीबार साँझ केही अभिभावकसँग भर्चुअल बैठक बसेर विद्यालय बन्द गर्ने निर्णय सुनाएपछि बन्द नगर्न सबै अभिभावकले सहयोग गर्ने बताउँदा पनि व्यवस्थापनले मानेन, मध्यराति सबै अभिभावकलाई विद्यालय बन्दको निर्णय पठायो ।” कक्षा ८ र ९ मा पढ्दै आएका आफ्ना बच्चा मात्रै नभई यस स्कूलमा पढ्ने सबै विद्यार्थी र अभिभावक चिन्तामा परेको उहाँ बताउनुहुन्छ । कोभिडको मारमा सबै विद्यालय परेको र सबैले नोक्सान बेहोर्दा पनि अरु विद्यालय बन्द नहुने तर शुभतारा बन्द गर्नु कोभिडको बहाना मात्रै भएको उहाँको भनाइ छ ।

कक्षा १ देखि १० सम्म पढाइ हँुदै आएको यो विद्यालयले आर्थिक सङ्कटको बहाना बनाउँदै बन्द गर्ने निर्णय गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको अभिभावकको गुनासो छ । विद्यालयका संस्थापक निर्देशक कक्षपतिले राति पठाएको इमेलमा विद्यालयमा अध्ययनरत ३६५ विद्यार्थी र ११९ शिक्षक कर्मचारीलाई सम्बोधन गर्दै कोभिडका कारण अभिभावकहरुले शुल्क नतिरेको, शुल्कको भार विद्यालयमा धेरै हुँदा रु दुई करोड घाटा लागेकाले आगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्ने जानकारी गराइएको छ ।

कलङ्की रविभवन निवासी अर्का अभिभावक सोफिया श्रेष्ठले अभिभावकको भावनाविपरीत विद्यालयले गलत निर्णय लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश अभिभावकले शुल्क तिरेका छन्, केहीको बाँकी रहेको एक/दुई महिनाको शुल्क पनि लकडाउनपछि तिर्ने भनेकै थियौँ, आर्थिक सङ्कट परे थप सहयोग गर्न तयार छौँ भनेर सबै अभिभावकले भन्दा पनि विद्यालय बन्द गर्ने एकल निर्णय गर्नुभयो ।”

हालसम्म २० वटा एसइई ब्याच सफलतापूर्वक पास भएको शुभताराका विद्यार्थी भने ललितपुरमै रहेको न्यू मिलिनियम विद्यालयसँग गाभ्ने गरी सहमति भएको भन्दै अभिभावकहरुलाई आफ्ना छोराछोरी त्यही विद्यालयमा पढाउने वा चित्त नबुझे अन्य विद्यालयमा भर्ना गराउन अनुरोध गरिएको छ । विद्यालय प्रशासनका अनुसार कक्षा १ देखि ९ सम्मका सबै परीक्षा तथा आन्तरिक परीक्षाहरु सम्पन्न भई विद्यार्थीलाई नतिजासमेत वितरण गरिसकिएको  छ ।

विद्यालय बन्दको निर्णयप्रति रुष्ट हँुदै अभिभावक शिवशङ्कर मानन्धरले भन्नुभयो, “शुभतारा अर्को विद्यालयसँग ‘मर्ज’ गर्ने भनिए पनि विद्यार्थी बिक्री गर्ने प्रयास भएको छ, ‘मर्ज’ भनेको दुई विद्यालय गाभिनु हो तर यहाँ त एउटा बन्द गरेर विद्यार्थी अर्कोमा पठाउने भनिएको छ, त्यो सरासर विद्यार्थी बिक्री गर्ने प्रयास हो, विद्यालय चलोस् हामी थप सहयोग गर्न तयार छौँ ।”

अभिभावक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले भने कोरोनाको महामारीको बेलामा अभिभावकको भावनाविपरीत विद्यालय बन्द गर्ने निर्णय गर्नु विद्यार्थी र अभिभावकमाथि घात गर्नु सरह भएको टिप्पणी गर्नुभयो । विद्यालय बन्द हुन नदिन अभिभावकको दबाब आएको बताउँदै उहाँले अभिभावक सङ्घकै नेतृत्वमा विद्यालय सञ्चालनका लागि आगामी २० गते व्यवस्थापन र अभिभावकसँग छलफल गराउने प्रयास भइरहेको उहाँले बताउनुभयो । विद्यालयमा अभिभावकको पनि लगानी रहन्छ भन्दै अध्यक्ष पुरीले विद्यालयको भौतिक संरचना बिक्रीका लागि विद्यालय बन्द गर्न खोजेको आशङ्का व्यक्त गर्नुभयो ।

महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले भने नगरपालिकाको विद्यालय सञ्चालन तथा नियमन गर्न छुट्टै शिक्षा ऐन र नीति रहेको बताउँदै नगरपालिकालाई जानकारी नै नगराई बन्द गरिए निषेधाज्ञा खुलेपछि छानबिन गरिने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा