जेठ २६, काठमाडौँ | एमाले सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको आशंका गरेका छन् ।

पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसदमा समेत आवाज उठिरहेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसद भीम रावलले धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नताको आशंका गरेका हुन् ।

पाठ्यक्रममा ई भनेको ईसा र ईसाले हाम्रो कल्याण गर्छ भन्ने लेखिएको भन्दै उनले शिक्षामन्त्रीलाई प्रश्न गरे, ‘कहाँबाट आयो ईसा ?’ पाठ्यक्रममा ईसा लेख्न शिक्षामन्त्रीले आर्थिक लाभसमेत लिएको उनले आशंका गरे ।

‘पाठ्यक्रममा के लेखिएको रहेछ भने, ई भनेको ईसा, ईसाले हाम्रो कल्याण गर्दछ । धर्मनिरपेक्ष भनिएको होइन देश ?मैले त बाल्यकालमा ई भनेको त ईश्वर पढेको थिएँ । ल कसैलाई ईश्वर मान्न भएन, ई माने ईमान किन लेख्नुभएन ? कहाँबाट ईसा आयो ? यो शिक्षामन्त्रीजीलाई थाहा छ कि छैन ? कि सरकार आफैं संविधानमा सनातन धर्म मान्नुपर्नेछ, कसैको धर्म परिवर्तन गर्न पाइनेछैन भन्ने लेख्ने, भित्र भित्र आफैँ कतैबाट फाइदा लिएर लागेको त छैन ? जनतालाई यसको जवाफ दिनुपर्छ । नत्र कसरी पाठ्यक्रममा लेखियो ?,’ सांसद रावलले बैठकमा प्रश्न गरे ।