2026-11-02 02:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरका दश हजार जनाको एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिँदै

रमेश गिरी । असार ४,भक्तपुर (रासस) । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण गर्ने भएको छ । नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान १० देखि ५ बजेसम्म एकै पटक उक्त सङ्ख्यामा एन्टिजिन र पिसिआर परीक्षण गर्ने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । 

जिल्लामा सङ्क्रमित र मृत्यु दर सबभन्दा बढी हुने सो नगरपालिकाले चिनियाँ मोडलमा नेपालमै पहिलोपटक एकैचोटि एन्टिजिन र पिसिआर परीक्षण गरी कोभिड–१९ सङ्क्रमणको विश्लेषण गर्ने भएको हो । “हाम्रो नगर क्षेत्रमा हाम्रा नागरिक कोरोनाबाट कति सुरक्षित छन्, जोखिमको अवस्था कस्तो छ, भावी रणनीति कस्तो बनाउने भनेर विभिन्न कोणबाट विश्लेषण गर्न नगरपालिकाले नगर क्षेत्रका नौवटा वडामा एकै पटक १० हजार व्यक्तिको एन्टिजिन र पिसिआर परीक्षण गर्दैछौँ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “चीनले यही विधिबाट परीक्षण गरेको यो चिनियाँ मोडल हो, नगरपालिकाले नेपालमा पहिलोपटक यो मोडलमा परीक्षण गर्ने भएको हो ।”

त्यसका लागि नगरपालिकाले करीब रु ३५ लाख खर्च गर्ने भएको छ भने परीक्षणका लागि ११ हजार किटको व्यवस्था गरिसकेको छ । नगरपालिकाले वडा नंं १ को निर्मल बैँक्युट, २ को महेन्द्र निमावि जातिगाल, वडा नं ३ को वडा कार्यालय कौशल्टार, वडा नं ४ को जनआदर्श क्याम्पस, वडा नं ५ को भुँलाखेल पुरानो वडा कार्यालय, वडा नं ६ को स्वास्थ्य चौकी, वडा नं ७ को स्वास्थ्य चौकी, वडा नं ८ को नर्थ प्वाइन्ट महल र वडा नं ९ को स्वास्थ्य चौकी भवनमा स्वाब सङ्कलन गरिने जनाएको छ । 

एउटा वडाबाट करीब एक हजार १०० को परीक्षण गरिने र सङ्क्रमित बढी भएका तथा जोखिमयुक्त क्षेत्रलाई लक्षित गरी परीक्षण केन्द्र निर्धारण गरिएको नगरपालिकाले जनाएको छ । कोरोना सङ्क्रमणको अवस्था समुदायस्तरमा कस्तो छ भन्ने सर्वेक्षण पनि हुनेछ भने सम्भावित कोरोनाको तेस्रो लहरबाट नागरिकलाई जोगाउन तयारी गर्न टेवा पुग्नेगरी नगरपालिकाको निर्णयबाट परीक्षण गरिने भएको हो । 

परीक्षणका लागि नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापनसहित यहाँका स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ । प्रत्येक केन्द्रमा चिकित्सक, नर्स, ल्याब टेक्निसियनसहित जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीका १८, नेपाल स्काउटका १८ स्वयंसेवक, मध्यपुर, नागरिक र समिट अस्पतालबाट थप छ ल्याब टेक्निसियन गरी १५० जनशक्ति परिचालन गरिने भएको छ । एन्टिजेनको २० मिनेटमा रिपोर्ट आउने र पिसिआर परीक्षणको रिपोर्टसहित २४ घण्टाभित्र दुवै रिपोर्ट सार्वजनिक गरिने भएको छ । 

पछिल्लो समयमा निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणको अवस्थामा कस्तो छ भनेर यसलाई विज्ञमार्फत अनुसन्धानका रुपमा मूल्याङ्कन गर्न सकिनेछ । यसैका आधारमा उपत्यका नगरपालिका फोरमलाई आगामी दिनमा नीति निर्माण बनाउन सहयोग पुग्ने नगरपालिका फोरमका सचिवसमेत रहेका श्रेष्ठको भनाइ छ । 

यो परीक्षणसँगै उपत्यकामा कोरोना सङ्क्रमणको अवस्था कस्तो छ, निषेधाज्ञा हटाउने तयारी भइरहेको अवस्थामा कसरी जाने, जनताको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले कस्तो नीति बनाउने भन्ने तयारी गर्न सहज हुने उल्लेख गर्दै उहाँले यो परीक्षण नेपालकै लागि ऐतिहासिक हुने जिकिर गर्नुभयो । 

सो नगरपालिकामा मात्र कोरोनाको पहिलो र दोस्रो लहरमा छ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार दोस्रो लहरमा तीन हजार ९०८ पुरुष र तीन हजार ३५९ महिला गरी सात हजार २६७ व्यक्ति सङ्क्रमित भएका छन् । हाल ८४ पुरुष र ९० महिला गरी १७४ सक्रिय सङ्क्रमित रहेका छन् भने आठजना अस्पतालमा उपचाररत रहेका छन् । अठासी जना होम आइसोलेशनमा र सात हजार दुईजना निको भएका छन् । सङ्क्रमितमध्ये जिल्लामा सबभन्दा बढी मध्यपुरमा ९१ व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द