२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सचेत रहौँ शापुसँग, आँखाको ज्योति गुम्न सक्छ

२०७८, १० आश्विन आईतवार ०४:५६

कमल रायमाझी। असोज १०, भैरहवा (रासस)। मानिसको आँखामा लाग्ने रोग शापुले दृष्टिविहीन बनाउन सक्ने एक अध्ययनले देखाएको छ । नेपालको मध्यपहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो । बढी मात्रामा बच्चाहरूमा लाग्ने यो रोग युवादेखि वृद्धासम्ममा लाग्ने गरेको नेत्ररोग विशेषज्ञले बताउने गरेका छन् । नेपालमा मात्र हुने यो शापु रोग बच्चाका लागि निकै खतरनाक मानिएको छ ।

विशेषगरी भदौदेखि मङ्सिरसम्म महामारीका रूपमा देखिने यो रोग समयमा नै आँखा अस्पताल पुग्न नसके आँखाको ज्योति गुम्न सक्ने डाक्टरहरू बताउँछन् । रोगको लक्षण देखिएको २४ देखि  ४८ घण्टाभित्र उपचारका लागि अस्पताल पुग्नुपर्ने नेपाल नेत्र ज्योति सङ्घले जनाएको छ । बाल अन्धोपनको मुख्य कारण बनेको यो रोगले समाजमा समेत आर्थिक र सामाजिक रूपमा दख्खल पुर्याएको नेत्र ज्योति सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष सागर प्रताप राणाले बताउनुभयो । यो रोग लागेमा अस्पताल पुग्नैपर्ने लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरका नेत्ररोग विशेषज्ञ प्रा डा ज्ञानेन्द्र लामिछानेको सल्लाह छ ।

आँखाको ज्योति बचाउनका लागि शापु लागेको लक्षण थाहा पाउनासाथ अस्पताल पुगेर उपचार गरी निको बनाउन सकिन्छ, प्रा डा लामिछानेले भन्नुभयो, “समयमा नै अस्पतालमा नआए दृष्टिविहीन हुनसक्ने सम्भावना अधिक रहन्छ । नेपालका  गण्डकी प्रदेशका सबै जिल्ला र लुम्बिनी प्रदेशका पहाडी जिल्लामा यो रोग लाग्ने गरेको तथ्याङ्कले देखाएको छ ।

शापु रोगका लक्षण

यो रोग लागेमा मानिसको आँखामा विभिन्न लक्षण देखिने लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरले जानकारी दिएको छ । रिर्सच सेन्टरका अनुसार शापु रोग लागेमा एक्कासी एउटा आँखा रातो हुने, चिप्रा नलाग्ने, उज्यालोमा हेर्न नसक्ने, आँखाको दृष्टिमा कमी आउने, आँखा दुख्ने, समयमा उपचार नपाए कालोमा सेतो देखिने गर्दछ ।

मानिसमा यस्ता लक्षण देखिए तुरुन्त नजिकको आँखा अस्पतालमा पुग्नुपर्ने स्वास्थ्य विशेषज्ञ बताउँछन् । रणअम्बिका शाह आँखा अस्पताल भैरहवाका प्रमुख प्रकाश रायमाझीले शापु रोगको उपचार अस्पतालमा मात्र सम्भव भएकाले यसका लक्षण आउनाका साथ बिरामीलाई जतिसक्दो छिटो आँखा अस्पताल पुग्नुपर्ने बताउनुहुन्छ । उहाँले मानिसमा अन्य कुनै भाइरसका कारणले आँखामा शापु रोगको जस्ता लक्षण देखिए पनि अस्पताल छिटो अस्पताल पुग्दा दृष्टि गुम्नबाट बचाउन सकिने बताउनुभयो ।

शापुबाट जोगिने

यो रोगबाट जोखिनका लागि मानिस सेतो पुतलीको संसर्गबाट टाढै बस्नुपर्ने विशेषज्ञ बताउँछन् । उनीहरुले रातिको समयमा बत्तीमा आउने सेतो पुतलीले मानिसको आँखामा संसर्ग हुनपुगे मात्र यो रोग लाग्ने भएकाले पुतलीबाट टाढा रहनु नै उत्तम रहेको बताएका छन् । नेत्ररोग विशेषज्ञ प्रा डा मदनप्रसाद उपाध्यायले रातिमा घरको झ्यालढोका बन्द गर्ने, आफूखुसी औषधि या अन्य कुनै पनि उपचार नगर्ने, रातिमा बत्ती निभाएर सुत्ने, रोगको लक्षण देखिए तुरुन्तै आँखा उपचार केन्द्रमा पुग्नुपर्ने बताउनुहुन्छ ।

“मानिसको आँखा संवेदशील भएकाले घरेलु उपचारभन्दा रोग देखिए आँखा उपचार केन्द्रमा पुग्नुपर्दछ”, नेत्ररोग विशेषज्ञ प्रा डा उपाध्यायले भन्नुभयो, “यो रोगलाई आँखा पाक्ने रोगसँग  दाँजेर घरमै बस्नु हँुदैन । आँखा उपचार हुने अस्पतालमा पुग्नु पर्दछ । हरेक वर्ष बिराएर प्रकोपको रुप लिने यो रोग नेपालमा समस्याका रूपमा देखिएको छ । गत वर्ष नदेखिएको शापु यो वर्ष देखिएको नेत्ररोग विशेषज्ञले बताउने गरेका छन् ।

अस्पतालको तयारी

लुम्बिनी प्रदेशका पहाडी जिल्लामा प्रकोपका रूपमा देखिएको यो रोगको उपचारका लागि रणअम्बिका शाह आँखा अस्पताल भैरहवाले विशेष टोली तयारी अवस्थामा राखेको जानकारी दिएको छ । नेत्ररोग विशेषज्ञहरू यो रोगको उपचार २४सै घण्टा तयारी अवस्थामा छन् भने अस्पतालका अन्य कर्मचारी पनि शापुको उपचारका लागि अस्पतालको निर्देशनअनुसार काम गरेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरले जनाएको छ ।

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरका नेत्ररोग विशेषज्ञ प्रा डा उपाध्यायले शापु रोगको उपचार र रोकथामका लागि नेपालभरका नेत्ररोग विशेषज्ञ र अस्पतालसँग उपचार पद्धतिमा एकरूपता ल्याउनका लागि सहकार्य गरिएको बताउनुभयो । नेपालमा विसं २०३२ मा देखिएको यो रोग बालबालिकामा बढी मात्रामा देखिने गरेको छ । यो रोग लागेपछि आँखाको ज्योति पुरानो अवस्थामा फर्काउन निकै कठिन हुने नेत्ररोग विशेषज्ञ बताउँछन् ।

उपचार विधि

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरका नेत्ररोग विशेषज्ञ प्रा डा लामिछानेका अनुसार यो रोगको उपचार विभिन्न वर्गमा विभाजन गरेर गरिएको छ । पहिलो, यो रोग लागेर तुरुन्त आँखा उपचार केन्द्र वा अस्पतालमा पुगे सामान्यरूपमा आइड्रपले नै निको हुने गर्दछ । 

दोस्रो, यो अलि ढिलो अस्पताल पुग्ने र आँखामा शापुका जीवाणु फैलिसकेको हुनाले इन्जेक्सन लगाएर उपचार गरिन्छ  । तेस्रो, अस्पताल ढिलो पुग्ने अवस्था हो । यस अवस्था जटिल अवस्था भएकाले शल्यक्र्रिया गरी शापुको उपचार गरिन्छ । उपचारपछि मानिसमा आँखाको ज्याति पुरानै अवस्थामा फर्काउन पनि कठिन छ । रातिमा सुत्दा पनि झुल लगाएर सुत्नुपर्ने नेत्ररोग विशेषज्ञहरू बताउँछन् ।

पुतलीबाट टाढै बसौँ

सेतो पुतलीले सार्ने शापु रोग नेपालमा मात्र हुने आँखामा लाग्ने रोग हो । यो भदौदेखि मङ्सिर महिनासम्म लाग्ने मौसमी रोग हो । यो रोग लागेपछि आँखाभित्रका तीनवटै पत्रलाई असर गर्ने सङ्क्रमण खालको रोग हो । आँखाको ज्योति नै गुम्ने खालको जटिल प्रकृतिको रोग भएकाले यस नेपालमा समस्याको रूपमा लिने गरिएको छ । नेपालका मध्यपहाडी जिल्लामा यो रोगको जोखिम बढी छ । 

यसको उपचार नेत्र चिकित्सकले मात्र गर्ने भएकाले आइड्रप, आँखाभित्र इन्जेक्सनबाट औषधि पठाएर र शल्यक्र्रियाबाट गरिने भएकाले यो जटिल प्रकृति हो । यसका लागि मानिसले सेतो पुतलीबाटै टाढै बस्नु पर्दछ । यसको रोकथामका उपाय अपनाउनु शापु रोगबाट बच्नु हो । त्यसकारण नेपालमा मात्र पाइने यो रोगको निवारणका लागि नेत्ररोग विशेषज्ञहरूले अनुसन्धान गरी यसको निदान गर्नुपर्दछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ