2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिर्गौला तस्करी : काभ्रेमा गोप्य चहलपहल !

फागुन २६, काभ्रेपलाञ्चोक  । यही फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौँ रुपैयाँ दिने आश्वासन पनि दिए । युवाले ‘सोचौला’ भन्दै उनीबाट छुट्टिएको सुनाए ।

मोटरसाइकलमा आउने गरेका केही पुरुषले मिर्गौलाकै विषयमा पटक–पटक कुरा गर्ने गरेको पाँचखाल नगरपालिका–७ जोर पिपलस्थित लामीडाँडा–पलाञ्चोक सडकखण्ड छेउ निवासी एक महिलाले बताउनुभयो । “अहिले यस्तो कुरा नगर्नुस्, मिर्गौलाको कुरा गर्नेबारे यहाँका नेतालाई भनेर सबै मिलेर लखेट्ने गरेको छौँ भनेपछि भाग्छन्”, ती महिलाले भन्नुभयो । उहाँका अनुसार स्थानीय जनप्रतिनिधिद्वारा त्यस्ता शङ्कास्पद व्यक्ति बस्तीमा आए तत्कालै खबर गर्न भनिएको छ ।

पाँचखालको होक्से तथा मण्डनदेउपुरको ज्याम्दी आसपासका बस्तीमा गोप्यरूपमा अझै पनि मिर्गौला बेचबिखनका विषयमा कुराकानी गर्न जाने गरेको स्थानीयवासी बताउँछन् । “मिर्गौलाको विषयमा कुरा गर्न कोही आए हामीले तुरुन्तै खबर गर्न स्थानीयवासीलाई भनेका छौँ”, पाँचखाल–८ का वडाध्यक्ष पुष्कार ढकालले भन्नुभयो । उहाँले फोन आए नम्बर र व्यक्ति स्वयं आएर गाडी नम्बरसमेत उपलब्ध गराउन अनुरोध गरिएको बताउनुभयो ।

मिर्गौला आवश्यक पर्ने परिवार तथा तस्करी गर्नेले काभ्रे नै सम्झने गरेको घटना विवरणले देखाएको पाइन्छ । जिल्लाको होक्से र ज्याम्दी दुई दशकदेखि ‘बैंक अफ किड्नी’को नामले देश–विदशेमा बदनामी कमाएको क्षेत्र पर्दछन् । पछिल्लो वर्ष मिर्गौला बेच्नेहरू नै यसबारे चेतनामूलक अभियानमा लागेपछि तस्करीमा केही आएको देखिन्थ्यो । तर, यही वर्ष मिर्गौला तस्करीका दुई घटना सार्वजनिक भएका छन् ।

गत साउन अन्तिम साता बनेपा प्रहरीले बनेपा नपा–५ का २८ वर्षीय एक युवाको मिर्गाैला बिक्री गरेको आरोपमा काभ्रेपलाञ्चोककै तीन जनालाई पक्राउ ग-यो । उनीहरुले दाजुको मिर्गौला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्यानमा पारी उनको एउटा मिर्गौला भारतमा लगेर बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनायो । घटनाक्रमले भने जिल्लामा मिर्गौला तस्कर पुनः सक्रिय भएको देखाएको छ ।

उक्त घटनामा भुम्लु गाउँपालिकाका ३५ वर्षीय कुमार परियार, उनका भाइ ३३ वर्षीय देवराज र पाँचखालका ३१ वर्षीय कुमार परियारलाई मिर्गौला तस्करीमा संलग्न रहेको जनाउँदै पक्रेको हो । आरोपितले ती युवाको एउटा  मिर्गौला भारतको कोलकातास्थित एमआरआई अस्पतालमा शल्यक्रिया गरी बिक्री गरेको अनुसन्धानबाट खुलेको थियो । दाजुको मिर्गौला बिक्री गर्ने तस्कर खोज्दाखोज्दै तस्करले निशानामा पारेका उनै युवाको जाहेरीपछि प्रहरीले तस्करीको खोजबिन थालेको थियो ।

काभ्रेबाट केही वर्षदेखि मानिसको शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला तस्करी रोकिएको अनुमान गरिए पनि २०७५ जेठ १० गते तस्करीले काभे्र जिल्ला बनेपा नपा–२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय पुरुषलाई झुक्याएर उनको एउटा मिर्गौला भक्तपुरका ५१ वर्षीय एक पुरुषलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराएका थिए । स्थानीयवासीका अनुसार तर उक्त घटनामा संलग्नलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन । तर प्रहरीले ज्याम्दी र होक्सेमा मिर्गौला तस्करी गर्ने सात जनालाई विसं २०७० वैशाखमा कानुनी कारबाही गरेको थियो ।

जानेर–नजानेर आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला बेचेका उनीहरूको जीवनशैली दिनानुदिन कारूणिक बन्दै गएको देखिन्छ । विशेषगरी, शारीरिक र आर्थिक अवस्था निकै कमजोर भइसकेकाले आयआर्जनका वैकल्पिक काम गर्नसमेत सकेका छैनन् । घटना विवरणअनुसार काभे्रको तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २४ वर्षअघिदेखि मिर्गौला तस्करी हुने गरेको थियो । तत्कालीन होक्से गाविस–१ स्थित एक ठकुरी परिवारका सात जनाले मिर्गौला बेचेपछि उनीहरुले विसं २०६८ मा गाउँ नै छाडेर हिँडेका थिए ।

१९ वर्षअघि मिर्गौला बेचेका मण्डनदेउपुर नगरपालिका–१२ ज्याम्दीका नवराज मिजार खुलेरै आफूले मिर्गौला बिक्रीपछि दुखाई काम गर्न रक्सी खाने गरेको र मिर्गौला बेचेर आएको पैसा पनि सकेर जमिन पनि सकेको बताउनुहुन्छ । “अहिले त मैले रक्सी छाडिसके, अब हामी मिर्गौला बेचेका केही मिलेर शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्ने कि भनी सोच्दैछौँ”, उहाँले भन्नुभयो । उहाँलाई ‘तस्कर’ले भारतस्थित दिल्लीमा जागिर लगाइदिने प्रलोभनमा झुक्याएर मिर्गौला बेच्न बाध्य पारेको थियो ।

केही वर्षअघि होक्से र ज्याम्दीमा चेतनामूलक कार्यक्रम गरेको जनाधिकार संरक्षण मञ्च (पिपीआर)नामक संस्थाको प्रतिवेदनमा पाँचखाल नगरको होक्से तथा जोरपिपलका ११२, पाँचखालका १०२ तथा ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गौला बेचेको उल्लेख छ । उसको प्रतिवेदनमा यसमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या तेब्बर देखिन्छ ।

मिर्गौला तस्करीमा संलग्नलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गत १० वर्ष कैद र रु दुई लाखदेखि रु पाँच लाखसम्म जरिवाना सजाय हुनेछ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानुनी व्यवस्था छ । नेपालमा मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन–२०५५ को संशोधन २०७२ मा नाता पर्ने प्रायः सबैले अङ्गदान गर्न सक्ने व्यवस्था गरिएको छ। उक्त ऐनले दुई वा दुईभन्दा बढी परिवारमा अङ्ग साटासाट गर्न सकिने व्यवस्था पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक