आज धेरै वर्ष पछाडि उसलाई

भोकसङ्गै कुस्ती लडिरहेको देखिरहेछु

रूप छ तर रङ्ग छैन उसमा

शरीर छ केवल खोक्रो

तर जवानीको आगो निभेको छ

सुकेको ओंठ छ तर मुस्कानले

फकेटाहाली आकाश उडिसकेको छ

परिस्थितिको लहराले बेरिरहेको छ उसलाई

कहिल्यै फुत्कने नसक्ने गरी

यी दिनहरूमा म उसलाई

केवल एकोहोरो हेरिरहेको छु

केवल एकोहोरो उल्लूले दिनमा न देखें झैं गरी ।

अभाव, गरिबी र भोकमरी

उसैसङ्ग प्रशस्त छँदै थिए

त्यो अलावा दिनलाई मसङ्ग केही थिएन

फगत उसलाई दया गर्न शिवाय

आभावका ती दिनमा -

उसले मलाई कतिकति सम्झीहोली होली

उसलाई कति धेरै आवश्यकता थियो होला मेरो

तर उसलाई दिने

मसङ्ग पनि त केही थिएन ।

अतीतका ती दिनहरू सम्झँदा

आज दया लागेर आउँछ तृप्तीमाथि

तर ती दिनहरू आज उसलाई

आफ्नै घृणाको नङ्ग्राले चिथरुँजस्तो लाग्दो हो

मेरो नाम सम्झेर पेट्रोलहाली

डढाउँजस्तो लाग्दो हो उसलाई

किनकि उसलाई यतिखेर भोक प्यारो भएको छ

र उसको आफ्नै जवानी चिरैता झैँ तीतो ।

एक समय भन्ने गर्थी ऊ -

समय म मुठ्ठीमा कस्छु

र तृप्त हुन चहाँन्छु तिमीसङ्ग हरेकपल

मेरो यो वैँशको आगोको लप्काहरू

तिम्रो त्यो मायाको पानीले निभाईदेऊ

आज मेरै सामुन्ने उसले कसेको मुठ्ठीबाट

बालुवा फुत्की दौडे झैँ उसले कसेका ती समयहरू दौडिरहेका छन् ऊ देखि परपर हुँदै ।

आज उसलाई

तृप्त हुनु छैन हिंजोको दिन झैँ

यौवनको दाँतहरू सबै समयसङ्सङ्गै झरेर गए

रसाउँदैन उसको मन यौवनको भोकले अचेल

रसाउँछ त केवल भोकले उसको मुख

अहिले म उसको मुखबाट

विषको र्याल दौडिरहेको देखिरहेछु

सायद, ऊ आत्मा हत्यागरेर आफ्नो

भोकको अन्त्य गर्न चहाँन्छे ।

एक समय थियो

उसले मलाई के दिईन, हर्थोक दिई

जवानी दिई/स्पर्श दिई/चुम्बन दिई/माया दिई

छ घरे दोभान र कुशमाढीमा

आफ्नो अङ्गालो र त्यो रात दिई

साँच्चै उसले चाहेको भए

उसलाई नदिने को थिए र त्यो बेला

तर उसले फगत मैँसङ्ग

उसको हरेक चीज लिलाम गरी

आज म सोंचिरहेको छु

मैले के दिएँ उसलाई ………… ?

राजबाबु श्रेष्ठ 'सागर'

महोत्तरी, गौशाला न. पा. वडा न. १

Related News