पढ्न करिब 2 मिनेट लाग्छ

साउन २६, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पर्ने पर्यटकीयस्थल नाढीमन तालमा रहेका माछा बुधबार स्थानीयले लगेका छन् ।

५२ बिघामा फैलिएको तालको माछा बेचेर गाउँपालिकालाई करिब ५० लाख आम्दानी हुने अनुमान थियो । तर, स्थानीयले एकैपटक ताल खाली गराइदिएका छन् ।

तालको माछा चोरी भइरहेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय केशरगन्ज र जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी खटिएको थियो । तालमा पुग्दा करिब हजार स्थानीयले धमाधम माछा निकाल्दै गरेको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए । पौडेलले भने, ‘हामीले सबैलाई भगायौँ । माछा मार्न चन्द्रनगरसहित छिमेकी गाउँका स्थानीयसमेत जम्मा भएका थिए ।’

नजिकै खेत भएका किसानले रोपाइँ गर्न पानी लगेकाले केही दिनदेखि तालमा पानी कम भएको थियो । तालमा पानी कम भएको मौकामा स्थानीयले माछा उठाएका हुन् । माछा मार्ने जाली मात्र होइन लामखुट्टेको झुल र तन्दासमेत बोकेर स्थानीय बासिन्दा माछा सोहर्न आएका थिए । यसमा ताल संरक्षण समितिका पदाधिकारी तथा स्थानीय बासिन्दाकै संलग्नता रहेको प्रहरीको भनाइ छ ।

गाउँपालिका कार्यालयले ठेक्का प्रक्रिया सुरु गरे पनि केही स्थानीयले अवरोध गर्दै आएको कार्यकारी अधिकृत मुकेशकुमार चौरसियाले बताए । ‘ठेक्का लगाउनका लागि पटक–पटक सूचना प्रकाशित गरिए पनि केही स्थानीयवासीको अवरोधका कारण ठेक्का लाग्न सकेको थिएन, अब त माछा नै खत्तम भए,’ उनले भने । -नयाँ पत्रिका दैनिक