पढ्न करिब 1 मिनेट लाग्छ

असोज २, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ छापभञ्ज्याङबाट मानव बेचबिखनमा संलग्न एक जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै नाताभित्रको एक महिलालाई बेचेको अभियोगमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइएका छापभञ्ज्याङका २६ वर्षीय सुवास कार्की २०६९ चैत २८ गतेदेखि फरार रहेका थिए ।

विशेष सूचनाका आधारमा प्रहरीले अभियुक्त कार्कीलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो । कार्कीलाई आवश्यक कारबाहीका लागि आजै जिल्ला अदालत चौतारा बुझाइने बताइएको छ ।

मानव बेचबिखनमा निज अभियुक्तका बाबुछोरा नै संलग्न रहेका थिए । अहिले अभियुक्तका बाबु रामचन्द्र कार्की सुन्दरा कारागारमा जेलजीवन काटिरहेका छन् ।