2026-11-01 12:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

‘चिलगाडी’ चढ्ने रहर अधुरै

कात्तिक १३, काठमाडौँ । वर्षौपछि आँगनमै जहाज (चिलगाडी) अवतरण हुँदा कालिकोटको कोटवाडाका स्थानीयमा खुसीको सीमा थिएन । 

कोटवाडास्थित सुनथराली विमानस्थलमा जहाज हेर्न गाउँलेको लर्को नै लागेको थियो । अघिल्लो वर्षको माघ २९ गते कोटवाडामा पहिलोपटक जहाज अवतरण गर्दा स्थानीयले अविरजात्रा नै गरे । नजिकबाट जहाज नदेखेका उनीहरूले आँगनबाटै चिलगाडी चढ्न पाइने सपना पनि बुने । परीक्षण उडानमा जहाज अवतरण भएको नौ महिना बिते पनि कोटवाडामा फेरि जहाज अवतरण नहुँदा स्थानीय निरास बनेका छन् ।

करिब ३१ वर्ष लगाएर निर्माण गरिएको उक्त विमानस्थलमा गत वर्षको माघमा परीक्षण उडान गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरको जहाज सफल अवतरण भएको थियो । अाजको अन्नपूर्णमा खबर छ-परीक्षण उडान सफल भएपछि कोटवाडामा नियमित उडानको घोषणा पनि भयो । परीक्षण उडानले हर्षित स्थानीयले त्यसपछि भने आँगनमा जहाज देख्न पाएनन् ।

जिल्लाको एक मात्र यो विमानस्थल सदरमुकाम मान्मदेखि करिब पाँच घन्टाको पैदल दूरीमा छ । सडक यातायातको पहुँच नपुगेको कोटवाडा आसपासका बासिन्दा परीक्षण उडान सफल भएको नौ महिनासम्म पनि नियमित उडान हुन नसक्दा निरास भएका छन् ।

‘पोहोर माघमा चिलगाडी गाउँमै आयो, हामी सबै हेर्न गएका थियौं’, कोटवाडाकी हस्ता विष्टले भनिन्, ‘आँगनबाटै चढ्न पाउने भयौं भनेर खुसी भएका थियौं, हाम्रो रहर अधुरै रह्यो । त्यही एकदिन मात्र आयो, त्यसपछि त चिलगाडी फर्केरै आएनन् ।’

कोटवाडामा अघिल्लो वर्ष परीक्षण उडानका बेला अवतरण गरेको जहाज हेर्दै स्थानीय ।

स्थानीय बासिन्दा हीरामणि उपाध्याय भन्छन्, ‘गाउँमा न सडक पुगेको छ न त विमानस्थल नै सञ्चालन भयो । परीक्षण उडानपछि जहाज फर्केर आएनन्, हाम्रा दुःखका दिन कहिलेसम्म रहने हुन् खै ? ’जहाज नियमित सञ्चालनमा आएपछि जिल्लाबाहिर आवत-जावत गर्न सजिलो हुने अपेक्षा गरेका स्थानीय यतिबेला जहाजको पर्खाइमा छन् ।

नियमित उडान नभएपछि बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ । परीक्षण उडान भएको एक वर्ष पुग्नै लाग्दा पनि जहाज नआएको भन्दै स्थानीय हर्कबहादुर शाहीले आफूहरूमाथि अन्याय भएको बताए । कोटवाडा क्षेत्रमा अहिले पनि सडकको पहुँच छैन । भौगोलिक रूपमा विकट रहेको यो जिल्लामा हवाई सेवा एक मात्र भरपर्दो विकल्प हो । तर, स्थानीय बासिन्दा पैदल हिँड्न बाध्य छन् । निर्माण सम्पन्न भएको र परीक्षण उडान पनि सफल भइसकेको अवस्थामा तत्काल नियमित उडान सुरु गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

सरकारले विमानस्थल सञ्चालनमा चासो नदिएको गुनासो जिल्लाका राजनीतिक दलले गरेका छन् । साथै, उनीहरूले तत्काल विमानस्थल सञ्चालनका लागि सामूहिक दबाब दिने जनाएका छन् । आफू पर्यटनमन्त्री हुँदा जीवनबहादुर शाहीले विमानस्थल सञ्चालनका लागि निकै मिहिनेत गरेका थिए । परीक्षण उडानपछि उनले तत्काल नियमित सञ्चालनको समेत वचन दिएका थिए । सरकार परिवर्तनपछि नियमित उडान प्रक्रिया पनि अलपत्र परेको हो । विमानस्थल नियमित सञ्चालनका लागि आफूले पहल जारी राख्ने शाहीले वचन दिँदै आएका छन् ।

जिल्ला आउने दलका नेता तथा सरकारी अधिकारीलाई स्थानीय बासिन्दाले नियमित उडानको माग गर्ने गरेका छन् । पञ्चायतकालमा शिलान्यास भएको विमानस्थल अझै अलपत्र पर्नु दुःखद भएको उनीहरूको गुनासो छ ।

कर्णालीका पाँच जिल्लामध्ये कालिकोटबाहेक अन्य जिल्लाका विमानस्थल सञ्चालनमा छन् । कालिकोटको सुनथराली विमानस्थल लामो प्रयासपछि निर्माण गरिएको हो । ३१ वर्ष लगाएर निर्माण भएको यो विमानस्थलमा हालसम्म २६ करोड रुपैयाँ खर्च भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।०४२ सालबाट निर्माण थालिएको यो विमानस्थलको सशस्त्र युद्धका कारण निर्माणमा ढिलाइ भएको थियो ।

चिहानमाथि खुसीको पर्खाइ

१६ वर्षअघि विमानस्थल निर्माणमा खटिएका ३६ मजदुरको एउटै चिहान भएको थियो । विमानस्थल निर्माणमा खटिएका कामदारमाथि माओवादीको आरोपमा सेनाले आक्रमण गरेको थियो । सोही क्रममा ३६ जना मजदुरले ज्यान गुमाएका थिए । उनीहरू मारिएकै स्थानमा विमानस्थल निर्माण भएको छ। ०५८ साल फागुन १५ गतेको त्यो पीडालाई स्थानीयले अहिले पनि भुल्न सकेका छैनन् । चिहानमाथि गत वर्ष जहाज अवतरण गर्दा स्थानीयको पीडा भने केही हल्का भएको थियो ।

सेनाले मजदुरको हत्या गरेपछि उनीहरूको शव विमानस्थलको छेउमा एउटै खाल्डोमा पुरिएको थियो । स्थानीय बासिन्दा त्यही चिहानमाथिको विमानस्थलमा नियमित जहाज अवतरणको पर्खाइमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय