2026-07-26 12:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँकेमा चुनावी सरगर्मीः १ र २ मा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा

मंसिर १७, बाँके । पश्चिम नेपालको प्रमुख केन्द्रका रुपमा रहेको बाँके जिल्लामा चुनावी सरगर्मी तीव्र छ । 

जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । निर्वाचन क्षेत्र नं १ र ३ को तुलनामा नेपालगञ्ज उपमहानगरपालिका समेत रहेको क्षेत्र नं २ लाई भने बढी चासोका साथ हेरिएको छ ।

विसं २०४८ देखि निरन्तररुपमा स्व.पूर्वप्रधानमन्त्री सुशील कोइरालाले उम्मेदवारी दिदै आएको यो क्षेत्रमा पहिलोपटक काँग्रेस आफ्नो उम्मेदवारविहीन अवस्थामा मैदानमा उत्रिएको छ । काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमप्रकाश आजादलाई समर्थन गरेको हो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पनि यसपटक सूर्य चिह्नधारी स्वतन्त्र राजनीतिक समूहका पशुपतिदयाल मिश्रलाई समर्थन गरेका छन् । यस्तै संघीय समाजवादी फोरम नेपालका मोहम्मद इस्तियाक राई र राष्ट्रिय जनता पार्टीका विजयकुमार गुप्ता पनि सशक्तरुपमा अघि बढेका छन् ।

क्षेत्र नंं १ मा लोकतान्त्रिक समूहबाट नेपाली काँग्रेसका माधवराम खत्री र वाम गठबन्धनबाट माओवादी केन्द्रका महेश्वरजंग गहतराजबीच प्रतिस्पर्धा छ । सो क्षेत्रमा २०४८ यताको निर्वाचनमा नेपाली काँग्रेसले दुईपटक र राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र र एमालेले एक/एक पटक जितिसकेका छन् ।

कोहलपुर नगरपालिका, राप्तीसोनारी र नरैनापुर गाउँपालिका रहेको सो क्षेत्रमा जनसंख्या बढी र भौगोलिक दृष्टिकोणले समेत ठूलो क्षेत्रका रुपमा रहेको छ । स्थानीय तहको निर्वाचनमा सो क्षेत्रअन्तर्गत पर्ने कोहलपुर नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेसले जितेको थियो भने राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा काँग्रेसले र नरैनापुरको अध्यक्ष–उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालले जितेको थियो ।

यो क्षेत्रको प्रदेशसभा सदस्यमा मुख्यतया दुई पक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रअन्तर्गत पर्ने प्रदेशसभा (क) र (ख) मा पनि लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका कृष्णा केसी नमूना र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका शरदचन्द्र बर्मा उम्मेदवार छन् ।

प्रदेशसभा सदस्य (ख) मा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका नारायणप्रसाद गौडेल र वाम गठबन्धनबाट एमालेका आरती पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

यसैगरी क्षेत्र नं २ नेपालगञ्ज उपमहानगरपालिका समेत रहेको यस क्षेत्रमा भने त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । विसं २०४८ देखि २०७० सालसम्मका पाँच वटा निर्वाचनमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच प्रमुख प्रतिस्पर्धा हुँदै आएकामा यसपटक यिनै दुई दलबीच तालमेल छ ।

काँग्रेस र राप्रपाको समर्थनमा राप्रपाका ओमप्रकाश आजाद उम्मेदवार हुनुहुन्छ भने वाम गठबन्धनबाट पशुपतिदयाल मिश्र उम्मेदवार रहेका छन् । राष्ट्रिय जनता पार्टीको सहमहामन्त्री त्याग्नुभएका मिश्रलाई एमालेले आफ्नो चुनाव चिह्न दिएर मैदानमा उतारेको हो ।

मधेशी समुदायका चर्चित नेताका रुपमा परिचित मिश्रलाई पहिलो पटक पहाडी समुदायका नेताले वाम गठबन्धनबाट अघि सारेका हुन् तर सोही समुदायको मत उहाँलाई आउने नआउनेबारे चर्चा पनि उत्तिकै बढी छ ।

यसैगरी संघीय समाजवादी फोरम नेपालका मोहम्मद इस्तियाक राईले प्रमुख गठबन्धनका उम्मेदवारलाई ठूलै चुनौती दिनुभएको छ । २०६४ सालमा मधेशी जनाधिकार फोरम नेपालबाट जित्नुभएका उनी पूर्व यातायात व्यवस्थामन्त्रीसमेत हुन् ।

मुस्लिम समुदायको प्रतिनिधित्व भएकाले भावनात्मक भोट पाउनेमा उनी विश्वस्त छन् । यी तीन जनाबीचको त्रिपक्षीय प्रतिस्पर्धासँगै यो क्षेत्रमा राजपाका विजयकुमार गुप्ताको प्रभाव पनि देखिन्छ । गुप्ताले २०४८ सालमा नगरप्रमुख हुँदा राम्रो प्रभाव पारेका थिए ।

सो क्षेत्रका प्रदेशसभा (क) मा नेपाली काँग्रेसका निरञ्जनसिंह सिजापति र माओवादी केन्द्रका कामताप्रसाद खटिक उम्मेदवार हुन् । संघीय समाजवादी फोरम नेपालका विजय यादव पनि बलियो उम्मेदवारको रुपमा उभिएका छन् ।

काँगेसबाट पार्टी परित्याग गरी फोरममा प्रवेश गरेका यादव स्थानीय तहको चुनावमा डुडुवा गाउँपालिका प्रमुखमा पराजय भएरपनि अहिले पुनः प्रदेशसभा सदस्यको उम्मेदवार बनेर जोडतोडका साथ मधेशी समुदायको बाहुल्यता रहेका गाउँमा जातीय सम्बन्धलाई समेत अघि बढाइ रहेका छन् ।

शहर क्षेत्र रहेको (ख) मा काँग्रेसबाट नेपालगञ्जका पूर्व उपप्रमुख सुरेन्द्र हमाल र एमालेबाट विजयकुमार गुप्ताबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै संघीय समाजवादी फोरम नेपालका दुर्गेश गुप्ता पनि उम्मेदवारका रुपमा प्रतिस्पर्धी हुन् ।

यसैगरी बाँके जिल्ला निर्वाचन क्षेत्र नंं ३ मा प्रतिनिधिसभा सदस्यमा निवर्तमान सांसद बादशाह कुर्मी र एमालेका पुराना नेता नन्दलाल रोकायाबीचको प्रतिस्पर्धा देखिन्छ । स्थानीय तह निर्वाचनमा सो क्षेत्रका तीनवटै तह जितेको एमालेले माओवादी केन्द्रको समर्थन पाएपछि निकै उत्साही बनेको छ ।

सो क्षेत्रको प्रदेशसभा सदस्यमा पनि दुई पक्षीय प्रतिस्पर्धा देखिन्छ । (क) मा लोकतान्त्रिक गठबन्धनले नेपाली काँग्रेसका चन्तराम थारु र वाम गठबन्धनले माओवादी केन्द्रका आइपी खरेललाई अगाडि सारेको छ । (ख) मा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका लक्ष्मीनारायण शाह र वाम गठबन्धनबाट एमालेका बाबुराम गौतमबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

यस जिल्लामा अस्थिर मतदाता बढी छन् । यहाँका नतिजा सोचेअनुरुपको ठीक उल्टो आउने भएकाले सबै उम्मेदवार आआफ्नै शैलीमा चुनावी प्रचारप्रसारमा जुटेका छन् । राकेशकुमार मिश्र/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ