पुस २७, काठमाडौँ | प्रदेश नं २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा स्थापित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ। वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाब दिन ज्ञापनपत्र बझाउनेदेखि मुख्यमन्त्रीको निवासमा धर्ना बस्नेसम्मको कार्यक्रम सार्वजनिक गरिएको हो।

वीरगञ्ज राजधानीको पक्षमा आवाज उठाउँदै आएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेशमान सिंहको समूहले पुस २८ गते बुधवार प्रदेश नं २ लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई ज्ञापनपत्र बुझाउँदै छन् भने ३० गते शुक्रवार प्रदेशका मुख्यमन्त्रीको वीरगञ्ज निवास अगाडि शान्तिपूर्ण धर्ना एवं प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो।

समग्रमा देशकै प्रमुख आर्थिक नगरीका रूपमा परिचित वीरगञ्जलाई नै प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने भन्दै पर्साबाट निर्वाचित प्रदेशसभा सदस्य प्रल्हाद गिरी, लोसपा नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी, उमेश सहनी, सुजित गिरीलगायतको माग छ। वीरगञ्जलाई नै स्थायी राजधानी बनाउन खोजेको भन्दै वीरगञ्जवासीले दबाब सिर्जना गरेका छन्।

मधेश आन्दोलनलाई सार्थक बनाउन वीरगञ्जले खेलेको भूमिका र सहिदको बलिदानीको मूल्यांकन गरेर वीरगञ्जलाई प्रदेश नं २ को राजधानी कायम गर्नुपर्ने माग वीरगञ्जवासीको छ। -रासस

प्रदेश २ को राजधानी वीरगञ्जलाई बनाउन दबाब