जेठ १०, पोखरा | पोखराको १५औँ मेयरको रुपमा धनराज आचार्य निर्वाचित भएका छन् । आचार्यले मतान्तर धेरै बनाएर जित सुनिश्चित गरेका हुन् । हालसम्म गणना भएको १ लाख ३८ हजार २ सय ११ मत गन्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका आचार्यले ५६ हजार ४ सय ७१ मत पाएका छन् ।

निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५१ हजार ५ सय ८५ मत मात्रै पाए । अझै ५ हजार मत गन्न बाँकी छ ।

उपमेयरमा भने एमालेकी मन्जु गुरुङ जीत नजिक पुगेकी छिन् । उनले कांग्रेसकी कोपीला रानाभाटलाई ४ हजार ३५ मत अन्तरले पछि पारेकी छिन् । गुरुङले ५८ हजार ५ सय ८२ मत पाउँदा रानाभाटको पोल्टामा ५४ हजार ५ सय ४७ मत परेको छ ।

०१६ सालमा नगर पन्चायतको रुपमा गठन भएको पोखरामा यसअघि १४ जना मेयरले काम गरिसकेका छन् । २०१६ देखि ०१८ सम्म पहिलो मेयरका रुपमा शिवबहादुर थापाले काम गरे । २०१९ देखि ०२४ सम्म नगेन्द्रबहादुर रायमाझी, २०२४ देखि २०२८ सम्म अम्बरबहादुर कार्की मेयर बने । २०२८ देखि २०३१ सम्म रुद्रबहादुर कार्की, २०३१ देखि ०३२ सम्म दीलिपकुमार पालिखे र त्यसपछिको ७ महिना रमेशबहादुर भट्टराई मेयर बने ।

२०३२ देखि २०३८ सम्म गणेश शेरचन, २०३८ देखि ०३९ सम्म श्रीप्रसाद गुरुङ, २०३९ देखि ०४१ सम्म उत्तमबहादुर पुन, २०४१ देखि २०४६ सम्म सूर्यबहादुर केसीले मेयरका रुपमा काम गरे । २०४९ पछि भने स्थानीय निकायको रुपमा निर्वाचन भयो । पहिलो मेयरको रुपमा कांग्रेसका भोला थापा निर्वाचित भए । २०५४ मा अहिलेका एमाले उम्मेद्वार कृष्ण थापा नै मेयर भएर काम गरिसकेका छन् । त्यसपछि २०६० सालमा हर्कबहादुर गुरुङलाई राजाले मेयरमा नियुक्त गरे । २०६२ सालमा चुनाव भयो, तर तत्कालीन ७ दलले बहिस्कार गरे । भीमसेन थापा राप्रपाबाट मेयर बने ।

नयाँ संविधान जारी भएपनि राज्य पुनः संरचनाबाट २०७४ मा पोखरा महानगरपालिका बन्यो । एमालेका मानबहादुर जिसी १४औँ मेयरका रुपमा निर्वाचित भएका थिए । उनको ५ वर्षे कार्यकाल सकिएपछि अहिले १५ औँ मेयरका रुपमा एमालेबाटै विभाजित भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका आचार्य पोखराको बागडोरमा पुगेका छन् । पोखराको मेयरमा २३ जनाको प्रतिश्पर्धा थियो ।

May 24, 2022
कास्की - KSK, राजनीति
धनराज पोखराका १५औँ मेयरमा निर्वाचित हुन् सुनिश्चित, कसको कति मत ?
समाचार सेयर गर्नुहोस्
By साझासवाल
4 मिनेट पढाइ