साउन २०, सप्तरी | सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव भारतीय नागरिक रहेको दाबी गर्दै उजुरी परेको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट डाक्नेश्वरी नगरपालिकाको उपप्रमुखमा निर्वाचित यादवविरुद्ध कीर्ते गरी नागरिकता लिएको आरोपसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको हो ।

‘प्रशासनमा उजुरी दर्ता भएको सुनेको छु,’ सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले न्युज कारखानालाई जानकारी दिए ।

उपमेयर यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको उजुरीमा दाबी गरिएको छ । मीरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नागरिकता लिएको आरोप उजुरीमा लगाइएको छ ।

भारतको निर्वाचन नामावली २०२२ मा मीराको नाम रहेकाे दाबी गरिएकाे छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेस गरेको शपथपत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचानपत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाणको रुपमा उजुरीमा समावेश गरिएको छ ।

तर, प्रमाणको रुपमा पेस गरिएका कागजात र आरोपको सत्यता अनुसन्धानबाट मात्र खुल्ने भएकाले अहिले नै दोषीको रुपमा हेर्न नमिल्ने सहायक प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।

Related News