असोज ३०, भक्तपुर। कांग्रेसबाट प्रतिनिधिसभा भक्तपुर-२ का उम्मेदवार दुर्लभ थापाले चुनावको समयमा विकासको एजेन्डा उठाएर जनतालाई भ्रममा नपार्न एमालेका प्रतिस्पर्धी महेश बस्नेतलाई चेतावनी दिइका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अन्य समयमा चुप लागेर बस्ने र चुनावका समयमा सधैं जसो साना-तिना विकासका एजेन्डा उठाएर मतदातालाई भ्रममा पार्ने काम गलत भएको बताए ।

नीति निर्माणको तहमा पुग्ने निर्वाचनलाई विकासको ललीपप बाँडेर चुनावी एजेन्डा बनाउनेलाई अब जनताले तह लगाउने भन्दै स्थानीय सरकारको काम विकासको मूल फुटाउने हो भन्ने हेक्का समेत नभएर चुनावी एजेन्डा उही पुरानै विकास गर्छौ भन्दै मत माग्नेलाई भक्तपुरका मतदाताले पाखा लगाउने थापाले बताए ।

आफ्ना प्रतिद्वन्द्वी बस्नेततर्फ संकेत गर्दै थापाले डनवाद, धनवाद र गनवादलाई प्रयोग गरेर निर्वाचन जित्ने दाउमा रहेकालाई ४ मंसिरपछि रुझेको बिरालो बन्नु पर्ने अवस्था आउने बताए ।

माओवादीको बैशाखी टेकेर एक पटक जितेको धङ्धङी कांग्रेसले यसै पटक उतार्ने उनले बताए ।