कात्तिक २२, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सत्ता गठबन्धनको साटो विपक्षीलाई सहयोग गरेको भन्दै ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्तीको तयारी गरेका छन् ।

गोरखा २ (२) मा नेकपा एमालेका उम्मेदवार राजु रानालाई सहयोग गरेको सूचना पाएपछि उनलाई हटाउने तयारी गरिएको मुख्यमन्त्रीनिकट स्रोतले बतायो ।

‘उहाँले गोरखामा एमालेलाई सहयोग गरेको जानकारी आएको छ, त्यसैले हटाउन लागिएको हो,’ स्रोतले भन्यो ।

मुख्यमन्त्री पोखरेल अहिले गृहजिल्ला नवलपुरबाट पोखरा आउँदै छन् । पोखरेल पोखरा आएपछि प्रदेश प्रमुखलाई मन्त्री बर्खास्त गरेको पत्र दिइने बताइएको छ ।

मन्त्री आचार्यले भने आज पनि कार्यकक्षमै छन् । मन्त्रीबाट हटाइन लागेको थाहा नभएको बताए । तर हटाइए पनि आफूलाई पश्चाताप नहुने उनको भनाइ छ । उम्मेदवारी दर्ता गर्दाको समयदेखि नै आफू कुनै पार्टी नरहेको र स्वतन्त्र भएको प्रतिक्रिया उनले दिएका छन् । ‘मैले कसैलाई भोट मागेको छैन, कसैको चाकडी गरेर पदमा बस्नु पनि छैन,’उनले भने ।

गोरखा २ (२) मा अघिल्लो पटक निर्वाचित भएका आचार्यले अहिले सो क्षेत्रबाट टिकट पाएनन् । सो ठाउँमै उनले स्वतन्त्र उम्मेदवारी दिएपनि पछि फिर्ता लिएका थिए । अहिले गोरखा २ (२) मा नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा उठेका छन् ।

Related News