2026-07-04 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

बालबालिकाको आनीबानी सुधार्दै बालक्लब

(गोपालप्रसाद पोखरेल) | असोज १९, पथरी (मोरङ) । गतवर्ष मोरङको टङ्कीसिनुवारी–१ की ३५ वर्षीया लक्ष्मी अर्यालले छोराको अध्ययन काठमाडौँबाट मोरङ सार्नुभयो । काठमाडौँमा बस्दा छोराको पढाइ बिग्रिएकाले छोरालाई लिएर उहाँ आफ्नै गाउँ मोरङको टङ्कीसिनुवारी फर्किनुभयो । गाउँ फर्कनुको एउटै उद्देश्य थियो — ११ वर्षीय छोरा सिर्जलको अध्ययन र आनीबानी सुधार्नु । 

उहाँले भन्नुभयो, “काठमाडौँमा राम्रो पढ्ला भनेर लगेको, पढाइ पनि बिग्रियो, बानी व्यवहारमा पनि सुधार आएन ।” टङ्कीसिनुवारी फर्किएर उहाँले छोरालाई युनिक एकेडेमीमा भर्ना गर्नुभयो । एक वर्षमै छोराको पठनपाठनमा उल्लेख्य सुधार आयो । सिर्जल कक्षा ५ मा उत्कृष्ट दशभित्र परे । पठनपाठनमा उनको प्रगति उल्लेख्य रह्यो । यसपछि उहाँले छोराको पढाइमा आएको सुधारको श्रेय स्थानीय सिद्धार्थ बाल क्लबलाई दिनुभयो । बालक्लबमा लागेपछि आनीबानीमा परिवर्तन आएको उहाँले सुनाउनुभयो । बाल क्लबमा सिकाइने नैतिक शिक्षाका कारण छोरामा सुधार आएको उहाँको भनाइ छ । 

लक्ष्मीको छोरा मात्रै हैन बालक्लबमा लागेपछि धेरै बालबालिकाको अध्ययनसँगै आनीबानीमा सुधार आएको छ । १४ वर्षीया मनिषा पाण्डे, सिद्धार्थ बाल क्लबकी अध्यक्ष हुनुहुन्छ । बालक्लबमा लाग्नुअघि उहाँको पढाइ कमजोर थियो । बालक्लबमा आबद्ध भएपछि उहाँले आनीबानीमा सुधार गर्नुभयो । अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुन थाल्नुभयो । उहाँ अहिले स्कुलमा हरेक गतिविधिमा प्रथम स्थान हात पारेको सुनाउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “वक्तृत्वकलामा मलाई कसैले भेट्दैन ।” मनिषाले धेरै पुरस्कार पनि हात पार्नुभएको छ । उहाँ भन्नुहुन्छ, “ममा आएको सुधार बालक्लबकै कारण हो ।” बालक्लबमा लागेपछि सामाजिक काममा पनि उहाँ अगाडि हुनुहुन्छ । उहाँ बालक्लबको अध्यक्ष भएपछि चेतनामूलक सडक नाटक गर्ने र मङ्सिरसम्ममा ‘क्लिन टङ्की’ बनाउने अभियान थालिएको छ । 

सरोज कार्की सिद्धार्थ बाल क्लबका सचिव हुनुहुन्छ । उहाँको पढाइमा व्यापक सुधार आएको छ । बालक्लबमा २५ जना सदस्य छन् । उहाँहरुले खाजाबापतको पैसा बचत गरेर क्लबमा जम्मा गर्दै आउनुभएको छ । बचत भएको पैसाले क्लबका सबै सदस्य एकै ठाउँमा ट्युसन पढ्ने गरेको सरोजले बताउनुभयो । अपुग पैसा बुबा–आमाले दिने गर्नुभएको छ । तर, अभिभावकबाट धेरै व्यहोर्नुपर्ने अवस्था नरहेको उहाँले सुनाउनुभयो । 

क्लबका सदस्यहरु एकै ठाउँमा बसेर पढ्न थालेपछि सबैको पठनपाठनमा उल्लेख्य सुधार आएको उहाँको भनाइ छ । “हाम्रो बालक्लबका कुनै साथी पनि कमजोर हुनुहुन्न,” उहाँले भन्नुभयो, “क्लबमा आबद्ध हुने सबै साथी एक से एक छन् ।” बालबालिकाले स्थानीय गोवरधनदास कमलावती परोपकारी प्रतिष्ठानमा वृक्षरोपण पनि गर्नुभएको छ । त्यहाँको सरसफाइ हरेक साता गर्ने गरेको क्लबका सचिव कार्कीको भनाइ छ । 

बाल क्लबमा आबद्ध भएपछि खेमराज राउत, दीपेश थापा लगायतका क्लबका सबै सदस्यको अध्ययनसँगै आनीबानीमा पनि सुधार आएको अभिभावक बताउनुहुन्छ । राउत अहिले क्लबको उपाध्यक्ष हुनुहुन्छ भने थापा कोषाध्यक्ष । उहाँहरु पहिले कसैको अगाडि बोल्न सक्नुहुन्नथ्यो भने विद्यालयमा पढाइमा पनि कमजोर हुनुहुन्थ्यो । बाल क्लबमा आबद्ध भएपछि धेरै सुधार आएको उहाँहरुले सुनाउनुभयो । नजानेको कुरा क्लबभित्रै छलफल गर्छाैं, क्लबका साथीहरुबाट समाधान नभए सल्लाहकारलाई सोध्छौँ, त्यहाँबाट पनि समाधान नभए त्यसका विज्ञसम्म पुग्ने गरेको खेमराजले बताउनुभयो । 

यसमा क्लबका सल्लाहकार ५० वर्षीय रामकाजी कार्कीले सहयोग गर्नुभएको छ । उहाँले तीनजना बालक सुबम तामाङ, शेखर राउत र मिलन राउतलाई आफ्नै घरमा संरक्षण दिएर राख्नुभएको छ । उहाँले क्लबको कार्यालय सञ्चालनका लागि एउटा कोठा पनि निःशुल्क उपलब्ध गराउनुभएको छ । 

टोलभरिका बालबालिका त्यहीँ जम्मा भएर छलफल गर्छन् । बालबालिका हरेक गतिविधिमा प्रथम हुने गरेको उहाँले बताउनुभयो । क्लबको कार्यालयमा कुन–कुन सदस्य के–केमा प्रथम भए त्यसको लिस्ट क्लबमा टाँसिने गरिएको छ । उहाँहरुले प्राप्त गरेको पदक पनि क्लबमा सजाएर राखिएको छ । बालबालिकाले पहिलो प्राथमिकता पढाइलाई दिएको र त्यसपछि मात्रै अरू अभियानमा लाग्ने गरेको सल्लाहकार कार्कीको भनाइ छ । 

प्रदूषणरहित टङ्कीसिनुवारी बनाउने अभियानमा बालबालिका लागेको उहाँले बताउनुभयो । गाविसले कुल बजेटको १० प्रतिशत बालबालिकाको क्षमता अभिवृद्धिमा खर्चने गरेको छ । सिद्धार्थ बाल क्लबले नमुना कार्य गर्दै अघि बढेपछि अहिले टङ्कीसिनुवारी–५ को सुनौलो बाल क्लबले पनि उसकै बाटो पछ्याउन थालेको छ । 

सिद्धार्थभन्दा २ वर्षपछि स्थापना भएको सुनौलो बाल क्लबले समुदायमा सरसफाइ, जन्मदर्ता गर्न सहयोग गर्ने, बालविवाह नियन्त्रण र खुल्ला दिसामुक्त गाविस बनाउने अभियानमा सक्रिय भएर लागेको अध्यक्ष शंकर राजवंशीले बताउनुभयो । राजवंशीका अनुसार दाइजो प्रथा विरुद्धको नाटक, सरसफाइसम्बन्धी होर्डिङ वोर्ड, पाँच÷पाँच रुपैयाँ बचत गरेर डस्टबिन र बेल्चा खरिद गरिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै