अभिमुखीकरण तालिम र स्वास्थ्य परीक्षण व्यवस्थित गर्ने प्रतिबद्धता

Posted on: 26 Jan, 2024

माघ १२, काठमाडौं | सरोकारवाला निकायहरूले वैदेशिक रोजगारमा जाने कामदारलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको कार्यक्रममा उनीहरुले स्वास्थ्य परीक्षण कार्यलाई समेत प्रभावकारी बनाउने विषयमा प्रतिबद्धता जनाएका हुन् ।

दुवै काम प्रभावकारी हुन नसक्दा विदेशमा धेरै नेपालीहरू अप्ठ्यारामा पर्नुका साथै अंगभंग तथा मृत्यु समेत हुने गरेका छन् । उक्त कार्यलाई व्यवस्थित गरेर प्रभावकारी बनाउन सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीको अध्यक्षतामा वैदेशिक रोजगारमा जाने कामदारको पूर्वप्रस्थान अभिमुखीकरण तालिम एवं स्वास्थ्य परीक्षण गर्ने कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा मन्त्रालय, वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार व्यवसायी संघ, पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था एवं वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूसँग सरोकारवालाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमपछि प्रभावकारी अभिमुखीकरण तालिम मार्फत आफूसँग सरोकार राख्ने सम्पूर्ण सूचनाहरू नपाइकन वैदेशिक रोजगारमा जाने कामदारहरूको संख्यालाई शून्यमा झार्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!