ढोरपाटनका मेयर देवकुमारविरुद्ध रेडकर्नर नोटिस जारी

Posted on: 26 Jan, 2024

माघ १२, काठमाडौँ | बागलुङ र पोखराका इमेज सहकारीको रकम अपचलन गरी फरार भएका ढोरपाटन नगरपालिका मेयरसमेत रहेका देवकुमार नेपालीविरुद्द रेड कर्नर नोटिस जारी भएको छ ।

गत जेठ ५ गतेबाट फरार भएका इमेज सहकारीका संस्थापक अध्यक्ष मेयर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारीको झण्डै सवा २ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।

मेयर नेपालीलाई पक्राउ गर्न रेक कर्नर नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यबाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ जना पुर्पक्षका लागि थुनामा छन् ।


बागलुङ बजारमा मुख्य कार्यालय खोलेर बुर्तिवाङ, गलकोटमा सेवा कार्यालयका नाममा कारोबार गरेको इमेज सहकारीले १ अर्ब ३८ करोड र देवकुमारकै नेतृत्वमा इमेजकै नाममा पोखरामा छुट्टै दर्ता भएको सहकारीबाट ६० करोड रुपैयाँ हिनामिना भएको भन्दै अदालतमा बिगो दाबीसहित मुद्धा दर्ता गरिएको छ । मेयर नेपाली श्रीमतीसहित फरार भएका हुन् ।

गत मंसिर ५ गते मेयर नेपालीले फेसबुकमा भिडियो सन्देश तथा विज्ञप्तिमार्फत आफ्नो र श्रीमतीको नाममा रहेको घरजग्गाबाट हिसाब मिलाउन तयार रहेको सार्वजनिक गरेका थिए ।

फेसबुकमार्फत फरार मेयर नेपालीले आफू र श्रीमतीको नाममा भएको ३ अर्बभन्दा बढी सम्पत्ति मालपोत कार्यालयमा गएर हस्तान्तरण गर्न तयार रहेको बताएका थिए । बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा रहेका ४५ कित्ताहरुमध्ये बुर्तिबाङ मा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरा मा ३ वटा घर, काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर मेयर नेपाली र श्रीमतीको नाममा रहेको उनले खुलाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!