सुपर सिक्समा पुगेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन कति सहज छ ?

Posted on: 28 Jan, 2024

माघ १४, काठमाडौँ | नेपालले दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा क्रिकेटमा सुपर सिक्सको यात्रा तय गरिसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसिसीले प्रतियोगिताको दोस्रो चरणमा ६/६ टोलीका दुई वटा समूह बनाएर सुपर सिक्स गर्दै छ ।

पहिलो चरणमा नेपाल रहेको समूह डीबाट शीर्ष ३ टोली र समूह एबाट शीर्ष तीन टोलीले सुपर सिक्सको एउटा समूहमा प्रतिस्पर्धा गर्दैछन्।


अघिल्ला दुई खेलमा पराजित भएको नेपाल अन्तिम खेलमा अफगानिस्तानलाई हराएर तेस्रो हुँदै सुपर सिक्स पुगेको हो। नेपाल रहेको समूहबाट पाकिस्तान विजेता र न्यूजिल्यान्ड उप-विजेताका रूपमा अगाडि बढेका छन् ।

समूह एबाट भारत र बङ्गलादेश अगाडी बढेका छन् । आयरल्यान्डको सम्भावना पनि बलियो छ । आइतबार हुने खेलमा भारतले अमेरिकालाई पराजित गरे आयरल्यान्डले पनि सुपर सिक्सको यात्रा तय गर्ने छ । तर अमेरिकाले भारतलाई फराकिलो अन्तरमा पराजित गरे आयरल्यान्डलाई नेटरनरेटमा पछि पार्दै अगाडि बढ्न सक्ने छ।

अन्य सुपर सिक्सभन्दा जारी विश्वकपको सुपर सिक्स फरक छ । समूहमा ६ वटा टोली भए पनि हरेकले सबैसँग खेल्दैनन्। पहिलो चरणमा खेलेका टोलीसँग फेरी प्रतिस्पर्धा गर्नुपर्दैन ।

नेपाल आफ्नो समूहको तेस्रो भएकाले अर्को समूहबाट तेस्रो भएर आउने टोलीसँग पनि प्रतिस्पर्धा गर्नु नपर्ने नियम छ ।

त्यसैले नेपालले सुपर सिक्समा केवल दुईवटा खेल खेल्ने छ । समूहमा रहने अन्य ५ टोलीले पनि २/२ खेल खेल्नेछन्।

नेपालले भारत र बंगलादेशसँग खेल्ने छ । पहिलो चरणमा नेपालसँग खेलेका पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगेकाले सुपर सिक्समा नेपाल अङ्कविहीन छ । नेपालको २ खेलबाट अंक छैन। सुपर सिक्स सुरु हुनुअघि पाकिस्तानको २ खेलबाट ४ अंक छ ।

अमेरिकालाई पराजित गरेमा भारतको पनि २ खेलबाट ४ अंक हुने छ । उक्त खेलमा अमेरिकासँग पराजित भए पनि सुपर सिक्स सुरु हुनुअघि भारतसँग २ खेलबाट ४ अंक रहने सम्भावना बलियो छ ।

२ खेलबाट न्यूजिल्यान्डको २ र बंगलादेशको २ अंक छ । सुपर सिक्सका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालको सम्भावना लगभग देखिँदैन । नेपालले पहिलो खेलमा जनवरी ३१ तारिख बंगलादेशको सामना गर्ने छ। भारतसँग फेब्रुअरी २ मा प्रतिस्पर्धा गर्ने छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!