शिवशक्ति बाबाको उदाहरणीय कार्य, झारफुकबाट आएको पैसाले विद्यार्थीलाई पोशाक वितरण

Posted on: 28 Jan, 2024

माघ १४, विराटनगर | सेवा गर्ने मन भएपछि प्रशस्त धन सम्पत्ति चाहिँदैन भन्ने उदाहरण प्रस्तुत गरेका छन्, मोरङको लेटाङ–९ जाँतेका शिवशक्ति बाबा भनिने सुजन कुमार पूर्वछाने मगरले । 

मगरको दैनिकी औसत मानिस जस्तै चल्ने गर्छ । उनी झारफुक गर्छन् । सोही झारफुकबाट जम्मा भएको रकम उनी समाजसेवामा खर्च गर्छन् ।  शुक्रबार उनले लेटाङ–९ जाँतेको शिक्षा ज्योति आधारभूत विद्यालयका ३५ जना विपन्न बालबालिकालाई पोशाक वितरण गरे । 


लेटाङ–९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा, वडासदस्यहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला राई लगायतको उपस्थितिमा उनले ४० हजार रुपैयाँ बराबरको विद्यालय पोशाक वितरण गरेका हुन् । 

माघको ठिहीमा फाटेको एकसरो लुगा लगाएर विद्यालय गइरहेको विद्यार्थी देखेपछि उनको मनमा दया लाग्यो । त्यसपछि उनले १०/२० रुपैयाँ गरेर जम्मा गरेको रकमबाट विद्यार्थीलाई पोशाक दिए ।  ‘मसँग केही छैन ।  विपन्न नानीहरू त्यो पनि दलित र जनजाति समुदायको बाहुल्यता रहेछ । त्यसैले सानो सहयोग स्वरुप पोशाक वितरण गरेको हुँ,’ उनले भने । 


पोशाक वितरण कार्यक्रममा देखिएका अधिकांश विद्यार्थीको लुगा च्यातिएको थियो भने खुट्टामा चप्पलसम्म थिएन । उनले भने, ‘कम्तीमा एउटा झोला र एक÷एक जोर जुत्ता वितरणको वातावरण मिलाउन मन छ, हेरौं भगवानको कति आशिर्वाद रहन्छ ।’


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!