वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

Posted on: 28 Jan, 2024

माघ १४, काठमाडौँ | वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ महाराजगन्ज बस्दै आएका ५४ वर्षीय पृथ्वी राज सिग्देल रहेका छन्। 


उनले मनिराण तिमल्सिनसमेतलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति ९ लाख रुपैयाँ लाग्ने भन्दै मकाउ पुगेपछि प्रतिष्ठित कम्पनीमा सेक्यूरिटी गार्डमा काम लगाइदिने र त्यसको मासिक तलब १ लाख ८० हजार हुन्छ भन्दै प्रलोभन दिएका थिए। उक्त प्रलोभनमा परी पीडितहरुबाट पटक–पटक गरी दुई लाख ७० हजार रुपैयाँ दिएपछि सिग्देल उक्त रकम लिएर सम्पर्कविहीन बनेका थिए। 

आफूहरु ठगिएको भनी पीडितहरुबाट आएको उजुरीका आधारमा प्रहरीले सिग्देललाई १२ गते दिउँसो साढे १२ बजेतिर दरबारमार्गबाट पक्राउ गरेको थियो। पक्राउ परेका सिग्देललाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!