अमेरिकामा के गर्दैछिन् राजेन्द्र लिङदेनकी छोरी ?

Posted on: 28 Jan, 2024

माघ १४, काठमाडौँ | रेखा थापा बच्चा पाउन अमेरिका गएको विषयबारे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले  गरेको टिप्पणीले सामाजिक सञ्जाल तताइरहेको छ । 

रेखा स्वयम्ले आफ्नो पार्टीको अध्यक्षलाई काउन्टर गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखिन् । रेखाले लिङदेनको नाम उल्लेख नगरिकन लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो, अमेरिकामा किन राखेको ?’

रेखाले लेखेजस्तै लिङदेनकी छोरी समता लिङदेन केही वर्षदेखि अमेरिकामा छिन् । यद्यपि, उनी रेखाजस्तो बच्चा पाउनका लागि त्यहाँ पुगेकी भने होइनन् । समता अहिले अमेरिकामा वाणिज्यशास्त्र विषयमा मास्टर्स पहिलो वर्षमा अध्ययनरत छिन् । उनले ब्याचलरको अध्ययन पनि अमेरिकामै गरेकी हुन् । समताले अमेरिकामा काम गर्दै पढिरहेकी छन् ।


पारिवारिक स्रोतका अनुसार ब्याचलर सकेर समता नेपाल फर्किएकी थिइन् । त्यसपछि उनी पुन मास्टर्स पढ्न करिब डेढ वर्षअघि गएकी हुन् । गएको दशैंमा पार्टी कार्यक्रमका लागि लिङदेन आफ्नी पत्नी सहित अमेरिका गएका थिए । त्यसबेला छोरीसँग भेटेको तस्वीर अहिले सामाजिक सञ्जालमा कतिपयले सेयर गरिरहेका छन् ।

समता अध्ययन पूरा गर्नासाथ नेपाल फर्किने योजनामा रहेको आमा सिता थापा लिङदेनले बताइन् ।

‘छोरीको अमेरिकामा सेटल हुने कुनै पनि योजना छैन । पढाइ सकेर फर्किहाल्छु भनेकी छ,’ उनले भनिन् ।

लिङदेन दम्पत्तीका तीन सन्तानमध्ये समता जेठी हुन् । दुई छोरामध्ये एकजना डिल्लीबजारको ट्रिनिटी क्याम्पसमा र अर्को छोरा विद्यालयमा पढ्छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनताका छोराछोरी जसरी अमेरिका पढ्न जान्छन्, समता त्यसैगरि गएको बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!