पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक ३०, जाजरकोट । यहाँका ग्रामीण क्षेत्रका दलित समुदायका स्थानीयबासीले आफू आफूबीच विभेद गर्ने गरेको पाइएको छ ।

विकले दमाईं, सार्कीलाई पानी छुन नदिने, घरको ढोकाभित्र छिर्न नदिने, छोएको खाना नखाने लगायतका विभेद अझै कायम रहेको खुलासा भएको छ ।

जिल्लाको बारेकोट क्षेत्रको नायकवाडा, रोकायगाउँ, रामीडाडाँ, सक्ला, भगवती, पश्चिमका अधिकांश गाविसमा यस्तो समस्या देखिएको हो । दलितभित्रका कामी, विक र नेपालीले अन्य दलितलाई बोलाउँदा समेत तिमी, तँ भनेर बोलाउँछन् भने बादी, लुहार, दमाईं, सार्कीले भने उनीहरुलाई तपाईं भनेर बोलाउने गरेको पाइएको छ ।

दलितभित्र नै विभेद रहेका कारण छुवाछूत प्रथा हट्न निकै मुस्किल भएको खगेनकोटका कृष्णबहादुर शाहीले बताउनुभयो । युवाहरुले यो विभेदलाई हटाउन खोजे पनि सवै युवा शिक्षित नहुनु, पाका उमेरका मानिस पुरानो संस्कार छाड्न नमान्नु विभेद नहट्ने समस्या हो ।

धारामा पानी भर्दादेखि भान्सासम्म दलितले दलितलाई नै विभेद गर्ने गरेका छन् । नायकवाडाका जयबहादुर दमाईं भन्नुहुन्छ “पुराना संस्कार, रीतिस्थिति बदलेर पाप गर्नु छैन, हामी चलेको चलन नै चलाउँछौँ ।”

विभेदका विषयमा खुलेर पढेलेखेका युवाले विरोध गरेपनि बूढापाकाले पुरानो संस्कारलाई नै निरन्तरता दिनु र युवा पीँढीलाई बूढापाकाले विरोध नगर्न दबाब दिएपछि विभेद हट्न थप मुस्किल भएको छ । रासस