पढ्न करिब 2 मिनेट लाग्छ

मङ्सिर १, पाल्पा । रामपुरको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको रामगुफाको संरक्षण हुन नसक्दा यसको प्राचीन महत्व हराउँदै गएको छ ।

त्रेतायुगमा भगवान् रामले तपस्या गरेको रामगुफा संरक्षणको अभावमा यसको ऐतिहासिक एवम् धार्मिक महत्व ओझेलमा परेको छ ।

कालीगण्डकी नदीको तटमा रहेको पवित्र रामघाटमा भगवान् रामले दिनहुँ नुहाएको र यस रामगुफामा तपस्या गरी बसेको किम्बदन्ती छ । भगवान्का आकृति रहेको यो गुफा झन्डै ५० मिटरको लम्बाइमा फैलिएको स्थानीय बुद्धिप्रकाश रेग्मीले बताउनुभयो ।

गुफाभित्र शङ्खाकार, विभिन्न भगवान्का आकृति भेटिनुका साथै गुफाभित्र पानीका मुहान पनि रहेका छन् । यस गुफालाई वर्षौंदेखि चमेराले वासस्थान बनाउँदै आएका छन् ।

ऐतिहासिक पर्यटकीय रामगुफाको विकासमा सम्बन्धित निकायको ध्यान जानसके यस क्षेत्रको विकास अगाडि बढ्ने थियो । रामघाट परिसरमा रामगुफासँगै अन्य छवटा गुफा रहेका छन् । यस रामगुफालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि यहाँका स्थानीयले रामपुर नगरपालिकामा पहल गरिरहेको ओमप्रकाश रेग्मीले बताउनुभयो ।

यस गुफाको संरक्षण र स्तरोन्नति गर्नसके यहाँ दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना रहेको छ ।

तुलादानको रकम विद्यालयलाई

यसैबीच, सेखाम गाविस–६ बस्ने ईश्वरीप्रसाद पौडेलले तुलादान गरेको रकम विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । राममन्दिर उच्च माध्यमिक विद्यालय मल्याङ्गकोटका लागि तुलादानबापतको रु २० हजार १०१ उहाँले हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार खाँडलाई सो रकम हस्तान्तरण गर्दै उहाँले गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग गर्न आग्रह गर्नुभयो । रासस