Skip to content
Friday, July 24, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

पञ्चेबाजा उपभोक्ता समितिको सार्वजनिक सुनुवाई

By साझासवाल 3 मिनेट पढाइ

फागुन २१, देउखुरी । पञ्चेबाजा उपभोक्ता समिति सिसहनियाँको सार्वजनिक सुनुवाई कार्यक्रम शनिवार सिसहनियाँ १ बड्का सिसहनियाँमा सम्पन्न भएको छ । दलित सञ्जाल सिसहनियाँको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सञ्जालका कोषाध्यक्ष र्फसबहादुर नेपालीले पञ्चेबाजा खरिदका लागि सिसहनियाँ गाविसबाट प्राप्त कुल १ लाख २५ हजार ७ सय रुपैया सहितको खर्च विवरण सुनाएका थिए ।  

जसमा १/१ वटा ढोलक,टेम्पी,झ्याली, नरसिंह,कर्नर र २/२ वटा दमा, सनही खरिद गरिएको बताए । सञ्जालका अध्यक्ष संजिप परियारको अध्यक्षता एवम् सिसहनियाँ गाविस वोर्ड सदस्य शान्तराज शर्मा पन्थीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको प्रमुख बाजा लोप हुन लागेकाले चिन्ता व्यक्त गर्दै बाजाको संरक्षण गर्न अवको युवा पुस्ताले ध्यान दिनु पर्ने र त्यसको अगुवाई दलित सञ्जालले गर्नु पर्ने बताएका थिए । 

साथै उनीहरुले दलितहरुलाई राज्यले अझै पनि समान व्यवहार गर्न नसकेको भन्दै अव त्यसका लागि सवै जना एक जुट हुनु पर्ने र दवाफ दिनु पर्ने बताएका थिए । सो अवसरमा प्रहरी चौकी सिसहनियाँका प्रमुख यज्ञमणी वैदिक, सञ्जालका पुर्व अध्यक्ष ठगेन्द्र परियार, सल्लाहाकार यमलाल कटुवाल विक्रम, समाजसेवी तथा बुद्घिजिवी राजेन्द्र पुजाली, पत्रकार ओमप्रकाश गुप्ता, सञ्जालका उपाध्यक्ष बाटुली वि.क लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सञ्जालका सदस्य अनिल तिवारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सञ्जालका सचिव नारायण परियारले गरेका थिए ।

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।