चैत १३, झापा । झापाका पहिलो अधिवक्ता नरेशकुमार बर्माको ७४ वर्षको उमेरमा निधन भएको छ ।

बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा उहाँको शनिबार साँझ निधन भएको हो । उहाँ केही समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

स्वतन्त्र बाम बुद्धिजीवीका रुपमा चिनिनुभएका बर्मा जीवनको उत्तराद्र्धमा वकालत पेसालाई थाती राखेर उद्योग–व्यवसाय गर्दै आउनुभएको थियो ।

विसं २०२६ देखि कानुन व्यवसायमा सक्रिय हुनुभएका बर्माले २०२७ सालमा झापामा ल फर्म खोल्नुभएको थियो ।

बर्माले असहाय, निम्न वर्ग र राजनीतिक अभियोगमा परेका सेवाग्राहीको पक्षमा निःशुल्क मुद्दा लड्ने गरेको वरिष्ठ अधिवक्ता लीला उदासी बताउनुहुन्छ ।

उहाँको आज स्थानीय मेची नदीमा दाहसंस्कार गरिएको छ । रासस