साउन १६, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालले सेवा गुणस्तरीय बनाउनका लागि अत्याधुनिक उपकरण खरिद गरि जडानको कार्य शुरु गरेको छ ।

अस्पताललाई आधुनिकीकरण गरी सेवालाई छिटोछरितो र विश्वसनीय बनाउका लागि रु एक करोड १० लाखको लागतमा उपकरण खरिद गरी जडानको कार्य शुरु गरिएको हो । डिजिटल एक्सरे, सी आर्म, फुटलर काउन्टर मेसिन, डेन्टल सेट अफ चेयर लगायतका दुई दर्जन उपकरण जडानको कार्य भइरहेको अस्पताल विकास समितिका अध्यक्ष भोजराज बोहराले बताउनुभयो । “केही मेसिन जडानको कार्य पूरा भएको छ”, उहाँले भन्नु भयो, “केही मेसिन जडान गर्दैछाँै ।”

अस्पताललाई आवश्यक उपकरणको अभावमा सेवा सञ्चालनमा कठिनाइ रहेको उल्लेख गर्दै अध्यक्ष बोहराले उपकरण जडानपछि अस्पतालले दिने सेवासुविधामा सहजता आउने बताउनुभयो । उपकरण जडान गरिए पनि सघन उपचार कक्षको सेवा भने सेवाग्राहीले पूर्ण रुपमा पाउन सकेका छैनन् । विशेषज्ञ चिकित्सक र सघन कक्ष सञ्चालन गर्ने जनशक्तिको अभावमा सघन कक्षको सेवा प्रभावकारी रुपमा दिन नसकेको अध्यक्ष बोहराको भनाइ रहेको छ ।

सघन कक्ष सञ्चालनका लागि एक फिजिसियन चिकित्सक, चार मेडिकल अफिसर र छजना दक्ष तालिम प्राप्त नर्स लगायतका जनशक्ति आवश्यक रहेको उहाँले बताउनुभयो । २० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको महाकाली अञ्चल अस्पतालमा अहिले तीनजना चिकित्सकले मात्र सेवा दिइरहेका छन । रासस

महाकाली अञ्चल अस्पतालमा अत्याधुनिक उपकरण