साउन १६, डोटी । जग्गाको विवादका कारण दीपायल बसपार्क एक साता यता बन्द छ ।

विवाद समाधानका लागि सरोकारवालाको प्रयास फितलो हुँदा बसपार्कको अवरोध खुलेको छैन । अवरोध जारी रहेपछि बसपार्क एक सातादेखि प्रयोगविहीन अवस्थामा छ ।

बसपार्क जोड्ने सडकमा आफ्नो सात आना जग्गा रहेको दाबी गर्दै स्थानीयवासी टेकबहादुर शाहले अघिल्लो आइतबार सडकमै फलामको डण्डीको घेरा हालेका छन् ।

एक छेउमा उनको जमिन देखिएपछि सडक साँघुरो देखिएको छ । जसले बसहरु छिर्न सक्ने अवस्थामा नहुँदा बसपार्क अवरुद्ध छ । “एक साता बित्दा पनि बसपार्क सञ्चालन हुन नसक्नु दुःखद छ,” होटल व्यवसायी सङ्घ डोटीका अध्यक्ष दीपकबहादुर खड्काले भन्नुभयो, “यसमा नगरपालिका, बसपार्क जग्गाधनी र प्रशासनको ध्यान जान नसकेको आभास हुन थालेको छ ।”

बसपार्क सञ्चालन नभएपछि मूल बजारमै गाडीहरु पार्किङ भइरहेका छन् । जसले बेला–बेला ट्राफिक जामसमेत भइरहेको छ । “व्यस्त बजारको सडकमै दर्जनौँ गाडी पार्किङ भएपछि सडक तथा बजार अस्तव्यस्त बनेको छ,” स्थानीय व्यापारी गणेशबहादुर साउँदले भन्नुभयो, “यस्तो अवस्थामा दुर्घटनाको जोखिम पनि बढेको देखिन्छ ।”

बसपार्क अवरुद्ध बनेको साता दिन पुग्नै लाग्दा गत शुक्रबार नगरपालिकाले जग्गाधनी टेकबहादुर शाह, शैलेश्वरी यातायात व्यवसायी समिति र वडा नम्बर ४ का स्थानीय वडाध्यक्ष वीरेन्द्र शाहको उपस्थितिमा बैठक बोलाएर सहमति गरेको दाबी गरेपनि लिखित सहमति नहुँदा बसपार्क खुल्न सकेको छैन । रासस