2026-09-19 07:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

खुला आकाशमुनि पढेका विद्यार्थीलाई सेनाले बनाइदियो भवन

(उमा केसी) | भदौ ७, रोल्पा | उत्तरी रोल्पाको थवाङमा रहेको वीर बलभद्र माध्यमिक विद्यालय जिल्लाका दशवटा पुराना माध्यमिक विद्यालयमध्ये एक हो । 

२०३५ सालमा स्लेट ढुंगाले छाएर बनेको भवन पुरानो भएका कारण कतिबेला भत्कने हो भन्ने चिन्ता थियो, अभिभावक, विद्यार्थी र शिक्षकलाई । कक्षा कोठा पनि निकै साना अनि प्रकाश नभएका । एउटा कोठामा पढाएको अर्को कोठामा सजिलै सुनिने हँुदा पढाइमा समेत असहज भइरहेको थियो । दस जोड दुईको पढाइ झन् खुला आकाशमुनि गर्नुपर्ने बाध्यता थियो । 

विद्यालय पुरानो भएपनि समस्यै समस्यामा जेलिएको थियो । विद्यालयलाई नमूना बनाउने भन्दै केही वर्षदेखि स्थानीयले प्रयत्न गरेको भए पनि सोचेजस्तो परिणाम हात पार्न सकेका थिएनन् । शान्ति प्रक्रियापछि विद्यालय तथा समग्र गाउँलाई नमूना बनाउनका लागि नेपाली सेनासँग हातेमालो गर्नुपर्ने थवाङवासी अगुवामा बेलाबेला छलफल हुने गर्दथ्यो । 

केही वर्ष पहिले थवाङमा नेपाली सेनाले गरेको स्वास्थ्य शिविर नै बन्यो थवाङ्गी जनता र नेपाली सेनाबीच नजिकिने माध्यम । कुराकानी हुँदा सेनाले थवाङ नमूना अभियानमा सहयोग गर्ने प्रतिबद्धता गर्यो । शुरुवातमा विद्यालय भवन निर्माणमा सहयोग गर्ने सहमति पनि भयो । 

नेपाली सेनाको खड्ग दल गणमार्फत सेनाको हेड क्वाटर, बाहिनी र पृतनामा समेत जानकारी दिएपछि तत्कालका लागि विद्यालय भवन निर्माण गर्ने प्रस्ताव स्वीकृत भएर आएको बताइएको छ । स्वीकृत प्रस्तावअनुसार नेपाली सेनाले करिब ९० दिनभित्र आफ्नै लगानीमा दुईकोठे पक्की भवन निर्माण गरी हस्तान्तरण गर्नुपर्ने थियो । बीचमा स्थानीय तहको निर्वाचन पनि परेकाले सेनालाई उक्त काम फलामको च्यूराझैँ थियो तर वर्षे झरी तथा टन्टलापुर घामको समेत पर्वाह नगरी एक टुकडी तीन महिनासम्म निरन्तर काममा व्यस्त रह्यो । 

क्याप्टेनको नेतृत्वमा रहेको करिब ३९ जनाको सो टोली गत जेठ ८ देखि भदौ २ गतेसम्म क्याम्प खडा गरी थवाङमै बसेको थियो । बिहानदेखि बेलुकासम्म विद्यालय भवन निर्माणमा अहोरात्र खटिएको सो टोलीले तीन महिनाभित्रै दुई तले पक्की भवन निर्माण गरी नवनिर्मित भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरणसमेत गर्न सफल रह्यो । 

विगतमा नेपाली सेनामात्रै हैन सुरक्षाका अन्य अंगसँग थवाङवासीको सम्बन्ध त्यति नजिक थिएन । २०३८ सालमा तत्कालीन शासकले थवाङलाई घेराहाली शैन्य अपरेशन गरेका थिए । त्यतिबेलादेखि थवाङवासी नेपाली सेनाबाट टाढिँदै गएका थिए । दश वर्ष लामो जनयुद्धमा त कैयौँ पटक आमनेसामने भएर युद्धमा सहभागी पनि भए । लामै समयसम्म थवाङवासी र सरकारी निकायको संवन्ध राम्रो हुन सकेन । सरकारले थवाङलाई आफ्नो नजिक ल्याउन निकै प्रयास पनि गरिरह्यो । कहिले घुम्ती शिविरको नाममा त कहिले विभिन्न विकासका कार्यक्रम दिए पनि थवाङ आफ्नो अडानमा टसमस भएन । 

नेपाली सेनाका उच्च पदस्थ कर्मचारी र थवाङको स्थानीय नेतृत्वबीच गाउँको विकासका लागि मिलेर जान लामै कुराकानी भएको बताइन्छ । अहिले थवाङवासी जनताको मागअनुसार वीर बलभद्र माध्यमिक विद्यालयको दुईतले पक्की भवन निर्माणमा सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरले जानकारी दिनुभयो । 

निर्माण सामग्री तथा जनशक्तिसमेत नेपाली सेनाबाट सहयोग भएको बताइएको छ । दुई तले पक्की भवन निर्माणका साथै विद्यालय हाताभित्र मोनोग्राम समेत निर्माण गरिएको छ भने ग्रीन अभियानअन्तर्गत नेपाली सेनाको सो टोलीले विद्यार्थी र शिक्षकसँगको सहकार्यमा विद्यालय हाताभित्र ५०० विभिन्न जातका बिरुवासमेत रोपेको थियो । भवन निर्माणमा श्रमदानसमेत गरी करिब रु २२ लाख लगानी गरिएको शैन्य स्रोतले बताएको छ । 

नमूना विद्यालय बनाउने योजनासहित अगाडि बढेको सो विद्यालयको आर्थिक अवस्था कमजोर रहेको तथा सरकारबाट पूर्वाधार निर्माणको लागि आउने अनुदान नाममात्रको हुने भएकाले नेपाली सेनाको सहयोग लिएका हौँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घर्तीले भन्नुभयो । 

पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन, आर्थिक स्रोत संकलनको काम भइरहेको उहाँको भनाइ छ । देशमा नेपाली सेनाले झैँ सबै निकायले निःस्वार्थ भावनाले काम गर्ने हो भने देशको विकास तीव्रगतिमा हुने अनुभूति गर्नुहुन्छ अध्यक्ष घर्तीमगर । 

कष्टकर अवस्थामा पठनपाठन भइरहेको विद्यालयमा नेपाली सेनाले कक्षा कोठा निर्माण गरिदिएर समस्या हल भएको विद्यालयका प्रधानाध्यापक कुलबहादुर ओलीले जानकारी दिनुभयो । सेनाको सहयोगका कारण कक्षा कोठा बाहिर बसेर पढ्न बाध्य विद्यार्थीले कक्षा कोठाभित्र बसेर पढ्न पाएका छन्, ओलीले भन्नुभयो । नेपाली सेनाको खड्ग दल गणले थवाङवासीको नमूना विद्यालय बनाउने अभियानमा सहयोग गर्न पाएकोमा गणपति अजय गुरुङले खुशी व्यक्त गर्नुभयो । 

हाल सो विद्यालयले कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गरिरहेको छ । कक्षा ९ देखि प्राविधिक धारका विद्यार्थीलाई अंग्रेजी र साधारणतर्फ नेपाली माध्यमबाट पठनपाठन गरिरहेको विद्यालयले जनाएको छ । 

सात सयको हाराहारीमा विद्यार्थी संख्या रहेको विद्यालयमा निजी स्रोतबाट १२ जना शिक्षकको व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ । विद्यालयमा प्राविधिक धारतर्फ कक्षा ९ र १० मा बाली विज्ञान विषयको समेत पठनपाठन हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई