२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा त्रिकोणात्मक प्रतिस्पर्धा

२०७४, १७ मंसिर आईतवार ०४:३४

अजयकुमार साह | मंसिर १७, महेन्दनगर, धनुषा | धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा काँग्रेस, वाम गठबन्धन र मधेशी गठबन्धनबीच त्रिकोणात्मक प्रतिस्पर्र्धा हुने भएको छ । 

प्रतिनिधिसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नं १ बाट वाम गठबन्धनबाट माओवादी नेता मातृकाप्रसाद यादव प्रत्यक्ष चुनावी मैदानमा पहिलो पटक उत्रनुभएको छ । 

त्यस्तै नेपाली काँग्रेसका तर्फबाट सोही क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आनन्द ढुंगानाले उम्मेदवारी दिनुभएको छ भने फोरम राजपा गठबन्धनबाट फोरमका दीपक कार्कीले उम्मेदवारी दिनुभएको छ । कार्की हालै मात्रै काँग्रेस परित्याग गरी फोरम प्रवेश गर्नुभएको हो । 

प्रदेशसभा सदस्यका लागि धनुषा १ को (क) बाट वाम गठबन्धनका तर्फबाट एमालेका किशोरी साह, १ (ख) बाट वाम गठबन्धनबाट माओवादीका रामचन्द्र मण्डल चुनाबी मैदानमा हुनुहुन्छ भने नेपाली काँग्रेसबाट १ (क) मा प्रेमकिशोर साह र (ख) मा रामउदय यादव प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । त्यस्तै फोरम राजपा गठबन्धनबाट १ (क) मा फोरमका श्यामनारायण यादव तथा १ (ख) मा राजपाका सञ्जय सिंहले उम्मेदवारी दिनुभएको छ । 

एउटा क्रान्तिकारी र भ्रष्टाचार विरोधी नेताका रुपमा छवि बनाउन यादव सफल भए पनि उहाँलाई चुनाव जित्न भने त्यति सहज छैन । उहाँको प्रतिस्पर्धा धनुषामा पञ्चायतकालमा शेरेधनुषाको उपाधि पाएका हेमबहादुर मल्ललाई लगातार तीन पटक हराउन सफल नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुंगानासँग छ । 

पहिलो संविधानसभाको चुनावमा माओवादीबाट समानुपातिक सभासद् बन्नुभएका यादव माओवादी अध्यक्ष प्रचण्डसँग असन्तुष्टि बढेपछि आफ्नो कार्यकाल पूरा गर्नु अघि नै सभासद्बाट राजीनामा दिनुभएको थियो । 

धनुषा–१ मा गणेशमान चारनाथ, धनुषाधाम, मिथिला, क्षिरेश्वरनाथ, मिथिला विहारी, सबैला र हंशपुर नगरपालिका गरी सातवटा स्थानीय तह छन् । स्थानीय तहको निर्वाचनमा गणेशमान चारनाथ नगरपालिका र सवैला नगरपालिकामा माओवादी केन्द्रले उपप्रमुख सहित केही वडाअध्यक्षमा जितेको थियो भने बाँकीमा काँग्रेस र मधेशवादी दलले जितेका थिए । यहाँ स्थानीय तहमा काँग्रेसले बढी सिट जितेका छ । 

पञ्चायती व्यवस्थाविरुद्ध आफ्नै गाउँ सबैलामा काँग्रेस कार्यकर्ताको प्रभावमा परेर मातृका राजनीतिमा आउनुभएको थियो । विसं २०३३ बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर ‘मेरो घाँटी र राजाको घाँटी एउटै हो’ भनेर नेपाल आएपछि मात्रिका काँग्रेसबाट नै अलग हुनुभएको थियो । 

यादव अब संविधान संशोधन गराउन र मधेशको विकासका लागि प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिएकाले जनताले आफूलाई जिताउने विश्वास व्यक्त गर्नुहुन्छ । 

आफूले चुनाव जिते रोजगारीको सिर्जना गर्ने, बन्द रहेको जनकपुर चुरोट कारखाना पुनःसञ्चालनमा ल्याउने, किसानको समस्या समाधान गर्ने, शिक्षा स्वास्थ्यलगायत क्षेत्रमा काम गर्नुका साथै भ्रष्टाचार अन्त्य गर्न लागिपर्ने यादव बताउनुहुन्छ । 

अर्का प्रतिस्पर्धी ढुंगानाले मधेश र मधेशीको माग नेपाली काँग्रेसले मात्र पूरा गर्न सक्ने भएकाले नेपाली काँग्रेसमा मतदान गर्न सबैलाई आग्रह गर्दै गर्दै आउनुभएको छ । नेता ढुंगाना राष्ट्रिय पार्टी बन्न तीन प्रतिशत मतका लागि संघर्ष गरिरहेको कुनै क्षेत्रीय पार्टीले मधेशको राजनीतिक, आर्थिक र विकास–निर्माणको माग पूरा गर्न नसक्ने भएकाले यस क्षेत्रका मतदाताले आफूलाई नै जिताउने विश्वास व्यक्त गर्नुहुन्छ । काँग्रेस पहिलेदेखि नै बलियो भएकाले कुनै वाम गठबन्धनले आफूलाई हराउन नसक्नेमा विश्वस्त रहनुभएका उहाँ भन्नुहुन्छ नेपाली काँग्रेसकै नेतृत्वमा नयाँ संविधान बनेकाले नेपाली काँग्रेसले बहुमत ल्याए मात्र मधेशको माग संविधान संशोधनमार्फत सम्बोधन हुनेमा जोड दिनुहुन्छ । 

यता मधेशी गठबन्धनको उम्मेदवार दीपक कार्की पनि पुराना अनुहारभन्दा जनताले नयाँ अनुहारका नेता खोजेकाले आफू जित्नेमा ढुक्क हुनुहुन्छ । मधेश र मधेशीको अधिकारका लागि मधेशवादी दलभन्दा अरुले बुझ्न नसक्ने भएकाले जनताले आफूलाई मतदान गरी जिताउनेमा नेता कार्की विश्वास व्यक्त गर्नुहुन्छ । उहाँ हालै काँग्रेस परित्याग गरी फोरममा प्रवेश गर्नुभएको हो । 

त्यसैगरी धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा पनि त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेस, वाम गठबन्धन र मधेशवादी गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरमबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । 

नेपाली काँग्रेसबाट रामकृष्ण यादव, वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता रामचन्द्र झा र संघीय समाजवादी फोरमबाट उमाशंकर अरगडियाबीच कडा प्रतिस्पर्धा हुने स्थिति छ । 

काँग्रेस नेता रामकृष्ण यादव धनुषा निर्वाचन क्षेत्र नं २ बाट दुई पटक लगातार निर्वाचित भइसक्नुभएको छ । पहिलो पटक सभासद् बनेपछि लेखा समितिको संयोजक समेत हुनुभएको यादव अहिले कृषिमन्त्रीसमेत हुनुहुन्छ । सोही क्षेत्रबाट आफ्नो भविष्य खोजी रहेका माओवादी नेता रामचन्द्र झा पनि दुई पटक सांसद बनिसक्नुभएको छ । 

पहिलो संविधानसभाको चुनावमा एमालेबाट जित्नुभएका झा दोस्रो संविधानसभाको चुनावभन्दा केही महिनाअघि मात्रै माओवादीमा प्रवेश गरेर दोस्रो संविधानसभाको चुनावमा पराजित हुनुभयो । झा प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्रीसमेत भइसक्नुभएको थियो । यादव र झाबीच सो क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको छ । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो