पढ्न करिब 1 मिनेट लाग्छ

पुस ५, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले रु ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ ।

ल्याण्डफिल्ड साइट नहुँदा लामो समयदेखि फोहर व्यवस्थित गर्न नसकेको सो गाउँपालिकाले फोहरबाट मोहोर आम्दानी गर्ने उद्देश्यसहित फोहरलाई व्यवस्थित गर्न थालेको हो । रु ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन केन्द्रको स्थापना गरी फोहर फाल्न थालिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो ।

आँबुखैरेनी गाउँपालिका–३ को कुडुलेमा छ रोपनी जग्गा भाडामा लिई फोहर व्यवस्थित गर्न थालिएको हो, थापाले भन्नुभयो । वार्षिक रु ७२ हजार भाडा दिने गरी १० वर्षका लागि जग्गा लिइएको जानकारी उहाँले दिनुभयो ।

उक्त गाउँपालिकाको वडा नं १, २, ३ र ४ बजार क्षेत्रबाट दैनिक उठ्ने तीन ट्रक फोहर सो केन्द्रमा लगी फाल्ने गरिएको गाउँपालिकाकी कार्यकारी अधिकृत दुर्गा थापाले बताउनुभयो । फोहरलाई मोहोर बनाउने उद्देश्य लिइएको उहाँले बताउनुभयो ।

कुहिने फोहरबाट प्रांगारिक मल बनाउने र नकुहिने फोहर शिशा, प्लाष्टिक, प्लाष्टिकका बोतल पुनःप्रयोग गर्न सकिने वस्तुलाई बिक्री गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । आँबुखैरेनीलाई सफा, सुन्दर र समृद्ध गाउँपालिका बनाउने लक्ष्य लिइएको गाउँपालिकाका कर्मचारी बताउँछन् ।

फोहरलाई व्यवस्थित ढंगबाट संकलन गरी केन्द्रसम्म पु¥याउनका लागि अहिले टोल सुधार समितिका पदाधिकारीलाई तालीम दिइएको छ । रासस