पढ्न करिब 3 मिनेट लाग्छ

फागुन ३०, जुम्ला । कर्णाली राजमार्गमा यातायात व्यवसायीले मनपरी भाडा उठाउने गरेका छन् । स्थानीय प्रशासनले तोकेको भाडा दरभन्दा बढी असुल्ने गरे पनि अनुगमन हुने गरेको छैन ।

भाडामा एकरूपता ल्याउने उद्देश्यले स्थानीय प्रशासनको अगुवाइमा भाडादर निर्धारण गरिएको थियो । जिल्ला प्रशासन कार्यालय र यातायात व्यवसायी कार्यालय, जुम्लाको पहलमा भएको छलफलमा भाडादर कायम भएको थियो । तर, एक वर्ष बितिसक्दा पनि यातायात व्यवसायीले मनपरी भाडा असुल्न छोडेका छैनन् ।

यातायात व्यवस्था कार्यालयका प्रमुख मित्रलाल ढकालले भाडादर कार्यान्वयनमा नआएको बताए । ढकालले भने, ‘कर्णाली राजमार्गमा भाडादरमा एकरूपता आएको छैन, व्यवसायीले भाडादर कार्यान्वयनमा ल्याएका छैनन् ।’

व्यवसायीद्वारा दोब्बर भाडा असुली

जुम्लाबाट सुर्खेत, नेपालगन्ज र काठमाडौंका लागि यातायातका साधनहरू चल्छन् । सुर्खेत र नेपालगन्जसम्म बसका साथै साना सवारीसाधन जिप, माइक्रोबस पनि चल्ने गरेका छन् ।

यातायात व्यवस्था कार्यालय जुम्लादेखि सुर्खेतसम्म प्रतियात्रु ८ सय १९, नेपालगन्जसम्म १ हजार ६९ र काठमाडौं दुई हजार रुपियाँ भाडा तय गरिएको छ । तर, यातायात व्यवसायीले यात्रुअनुसार भाडा लिने गरेका छन् ।

जसबाट जति लिन सक्यो त्यति लिने गरेको यात्रुको गुनासो छ । उनीहरूले जुम्लाबाट सुर्खेतको जिपले दुई हजार र बसले १ हजार ६ सय रुपियाँ लिन्छन् । त्यस्तै, जुम्लाबाट नेपालगन्जसम्म जिपले दुई हजार र बसले १ हजार २ सय लिन्छन् ।

जुम्ला–काठमाडौं बस मात्रै चल्छन, तिनले प्रतियात्रु २ हजार ८ सय ५० रुपियाँ लिने गरेका छन् । कर्णाली यातायात व्यवसायी संघ, जुम्लाका अध्यक्ष मीनबहादुर थापा भाडादरमा एकरूपता नभएको स्वीर्काछन् ।

साना–ठूला सबैखाले सवारीसाधनले मनपरी भाडा असुल्ने गरेको बताउँदै उनले भने, ‘सबै यातायात व्यवसायी समिति जुम्लाभन्दा बाहिरका छन्, हामीले नियन्त्रण गर्ने अवस्था छैन ।

कर्णाली राजमार्गमा कर्णाली, गोकर्णाली, चन्दननाथ, सनराज, बुलबुलेलगायत एक दर्जनभन्दा बढी यातायात व्यवसायी समिति सवारीसाधन चल्छन् ।

भाडादर कार्यान्वयनमा स्थानीय प्रशासनले वास्ता नगरेको कर्णाली यातायात व्यवसायी संघका अध्यक्ष थापाको भनाइ छ ।

उनले भने, ‘यो विषय नियमन गर्न पटक–पटक सिडियोसाप र यातायात व्यवस्था कार्यालयलाई अनुरोध गर्याैँ, ध्यानै दिँदैन ।’ यसका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति हुन्छ ।

काउन्टरमा काटिन्न टिकट

यातायात व्यवसायी समितिहरूले जुम्ला बसपार्कमा काउन्टर राखेका छन् । बाटोमा पनि ठाउँ–ठाउँमा काउन्टर छन् । तर, काउन्टरमा टिकट काट्ने भने गरिएको छैन ।

मनपरी भाडा लिने गरेकाले काउन्टरमा टिकट काट्ने गरिएको छैन । यसले ट्राफिक प्रहरीलाई छल्न सजिलो हुने गरेको छ ।

उनीहरूले ट्राफिक बिटनजिक यात्रुलाई ओरालेर हिँड्न लगाउने गरेका छन् । ट्राफिक प्रहरीले पनि सामान्य जरिवाना गराएर छोड्ने गर्छन् ।

सहुलियत छैन

यातायातका साधनमा विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई टिकटमा सहुलियत दिइन्छ । कर्णाली राजमार्गमा भने कसैलाई पनि भाडादरमा छुट दिने गरिएको छैन ।

जुम्लाबाट नेपालगन्ज, सुर्खेत तथा काठमाडौं यात्रा गर्दा पनि छुट नपाएको हिमा गाउँपालिकाको खलढुंगाका सूर्य अधिकारीले बताए ।

‘अपांग हुँ, परिचय पत्र पनि देखाउँछु, तर कसैले छुट दिँदैनन्’, अधिकारीले भने । विद्यार्थीलाई पनि भाडादरमा छुट नदिने गरिएको अनेरास्ववियु जुम्लाका सचिव भरत नेपालीले बताए ।

‘विद्यार्थी परिचय पत्र देखाउँदा पनि यातायात व्यवसायीले छुट दिँदैनन्’, नेपालीले भने । स्थानीय प्रशासनलाई पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरिएको उनको आरोप छ ।

कर्णाली राजमार्गमा चल्ने सवारीसाधनमा ज्येष्ठ नागरिक, अपांग तथा महिलाका लागि सिट छुट्याइएको पनि हुँदैन । उभिएर जानुपर्ने अवस्था छ । ज्येष्ठ नागरिक संघ, जुम्लाका अध्यक्ष तीर्थराज भारतीले भने ।

राज्यले जेष्ठनागरिक एकल महिला तथा विद्यार्थीका लागि छुट्याएको विशेष राहतलाई यातायात व्यवसायीहरुले मिच्दै हिँडेको जुम्ला बासीको गुनासो छ ।