चैत ६, पर्वत | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अबको पालो भनेको मुलुकको विकास र समृद्धिको भएको बताउनुभएको छ ।

राष्ट्रियसभामा निर्वाचित भए पनि पहिलोपटक गृहजिल्ला पर्वत आउनुभएका तिमिल्सिनाले जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै लामो समयको संघर्षपछि मुलुकमा दिगो सरकार बनेकाले समृद्धिको निम्ति काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।

उहाँले पहिले संघीय संरचना र प्रदेशका लागि आवश्यक कानून निर्माण गर्ने र त्यसपछि सबै तहमा काम गर्न सहज हुने उल्लेख गर्दै नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण रहेकाले यिनै स्रोतहरुको भरपूर प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कृषि, पर्यटन, जलस्रोत, खानीको अपार सम्भावना भए पनि स्थिर सरकार नहुँदा तिनीहरु टुंगोमा पुग्न नसकेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अब समृद्ध राष्ट्र बनाउनका लागि वातावरण बनेको समेत बताउनुभयो । तिमिल्सिनाले हिजो संविधान निर्माण गर्दा जसरी सबै दलको सहमतिमा बन्यो त्यही रुपमा मुलुकको नवनिर्माणका लागि अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले संघीय संसद् र प्रदेश संसद्मा आवश्यक कानून नहुँदा काम गर्न कठिनाइ भएको बताउँदै दुवै तहमा शीघ्र नीति र कानून निर्माण गरेर अघि बढ्न आफू तयार रहेको बताउनुभयो । तिमिल्सिनाले सबै पक्षलाई मिलाएर सहमति र सहकार्यको मूल्य तथा मान्यतामा आधारित भएर आफूले काम गर्ने बताउनुभयो । उहाँले लोकतन्त्र बचाउन र राष्ट्रियसभाको गरिमा बचाउँदै यसको मूल्य र मान्यताको रक्षाका लागि आफूहरूले भरपूर प्रयास गर्ने स्पष्ट पार्नुभयो ।

सो अवसरमा तिमिल्सिनालाई जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेलले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । रासस

March 20, 2018
पर्बत - PBT, समाज
अबको पालो विकास र समृद्धि: तिमिल्सिना
By kit
4 मिनेट पढाइ