Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको बर्दिवासमा खानेपानीको चर्को समस्या उत्पन्न

२०७४, १२ चैत्र सोमबार १२:२३

गोपालप्रसाद बराल/चैत १२, बर्दिवास | महोत्तरीको उत्तरी क्षेत्रमा इनार सुक्न थालेपछि खानेपानीको चर्को समस्या उत्पन्न भएको छ । 

जिल्लाको उत्तरी क्षेत्रस्थित बर्दिवास नगरपालिकाका हाथीलेटको विजय बस्ती, किसाननगर, विजलपुरा, मनहरीपुर र पशुपतिनगर, गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनियाँ र रामनगर एवं भंगाहा नगरपालिकाका प्रेमनगर र रामनगरसहितका बस्तीमा इनार र चापाकल सुक्न थालेपछि खानेपानीको समस्या बढेको हो । त्यस क्षेत्रमा मुख्यगरी इनार खानेपानीका प्रमुख स्रोतका रुपमा रहेका छन् । 

बर्दिवास–८ हाथीलेटको विजय बस्तीमा ५५ घरकाबीच रहेको एउटा इनार पनि सुक्न थालेपछि अब खानेपानीका लागि के गर्ने भन्ने चिन्ताले त्यहाँका बासिन्दा पिरोलिएका छन् । 

“पहिलेपहिले पनि इनार त सुक्थे”, विजय बस्तीकी गृहिणी नुरमाया विकले भन्नुभयो, “जेठसम्म पानी नपर्दा इनार सुक्ने त ब्यहोरिएको थियो, पछिल्ला दुई÷तीन वर्षदेखि त लाग्दो चैतमै इनार सुक्न थालेका छन् ।” बस्तीका ५५ घरका बासिन्दा पानी भर्न इनारमा पुग्दा इनारभित्र पानीका लागि झारिएका डोल (बाल्टिन) पानीमा डुब्न छाडेको सो बस्तीका गृहिणी बताउँछन् । 

“डोलभरि पानी आउँदैन, डोलमा तानिएको आधाउधी पानी पनि एकैपटक इनारभित्र झारिएका १५÷१६ वटा डोल ठोक्किँदा अलिकति पानी माथि आइपुग्छ”, बस्तीकै अर्की गृहिणी पानवती दासले भन्नुभयो, “चैतमै यो हालत छ, जेठसम्म के होला ?” 

त्यसैगरी यसै सातामै बर्दिवास नगरपालिका– ६ र ७ को किसाननगरका मनहरीपुर, कृष्णपुर, जुरेटोल र फूलबारी टोलका इनार पनि धमाधम सुक्दैछन् । बर्दिवास–७ कै प्रेमनगर, बर्दिवास–९ को टोकीटोल र पशुपतिनगर एवं छिमेकको भंगाहा नपा–४ रामनगरका इनार सुक्न थालेकाले यसपालि खानेपानीको संकट चैतमै पर्ने छाँट देखिएको पशुपतिनगरका सामाजिक, राजनीतिक कार्यकर्ता सुरजसिंह कुशवाहा बताउनुहुन्छ । 

पछिल्ला पाँच वर्षयता इनार सुक्नेक्रम बाक्लिएको यहाँका बासिन्दाको भनाइ छ । त्यसअघि लामो खडेरी पर्दा विसं २०५४ को जेठमा केही इनार सुकेको सम्झदै बर्दिवास–६ कृष्णपुरका अवकाशप्राप्त शिक्षक ७० वर्षीय अमरबहादुर दर्लामी पाँच वर्षयता भने इनार चैतमै सुक्न थालेको बताउनुहुन्छ । 

आफ्नो वरपरका इनार धमाधम सुकेपछि यस क्षेत्रका बासिन्दा खानेपानीको जोहो गर्न टाढाटाढा पुग्नुपरेको छ । “नगरपालिका र अन्य सरकारी निकायले वास्ता गर्दैनन्”, प्रेमनगरकी गृहिणी शैल महतोले भन्नुभयो, “पोहोर साल मात्र करीव रु चार लाख ऋण लिएर खनाइएको इनार यसपालि चैत लाग्दै सुक्यो, अब के गर्ने होला ?” सरदर ५० फिट गहिराइका ५० प्रतिशत इनारको पानी तल्लो गोल (इनार बनाउँदा लगाइने सिमेन्ट, छड लगाएर बनाइएको रिङ) मा पुगिसकेको पशुपतिनगरका सर्वसाधारणले बताएका छन् । 

बस्तीका इनार र चापाकल धमाधम सुकिन थालेपछि खान मात्र नभई नुहाइधुवाइसँगै बस्तुभाउलाई पानी ख्वाउनसमेत निकै सकश परेको भंगाहा–४ का बासिन्दाको गुनासो छ । 

करीव ५०० घरधुरी बसोबास रहेको भंगाहा रामनगर बस्तीका २५ प्रतिशतभन्दा बढी इनार र चापाकल सुकिसकेको सो बस्तीका सामाजिक कार्यकर्ता भरत यादव बताउनुहुन्छ । इनार धमाधम सुकेपछि सिँचाइको अर्को विकल्प नभएका आफूहरुको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत संकटमा परेको रामनगर बस्तीकै किसान भरतराज बरालले बताउनुभयो । 

पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालुवा, ढुंगा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनाश बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खापानीका मुहान चाँडै सुक्न थालेको लामो समयदेखि चुरे संरक्षण र जलाधार संरक्षणका क्षेत्रमा काम गर्दै आउनुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । 

“प्राकृतिक सम्पदाको अनियन्त्रित दोहनले ठीक समयमा पानी नपर्ने र जलाधार सुक्ने समस्या बढेका छन्”, यादवले भन्नुभयो, “यो प्रभावले खडेरी, अनावृष्टि र अतिवृष्टिको चपेटाले हाम्रा समस्या झन बढेका हुन् ।” 

यसैबीच बर्दिवास, भंगाहा र गौशाला नगरपालिकाले अब अघिल्ला वर्षदेखि खानेपानीका समस्या नहुने गरी यसपालि योजना छानिएको जनाएको छ । “यसपटक खानेपानीका प्रशस्त योजना छनोट भएका छन्”, बर्दिवास नपाका प्रमुख विदुरकुमार कार्कीले भन्नुभयो, “यी छनोट भएका खानेपानीका योजना कार्य सम्पन्न हुनासाथ नपा क्षेत्रमा भोग्दै आइरहेको खानेपानीे समस्या समाधान हुन्छ ।” 

भंगाहा नपाका प्रमुख सञ्जीवकुमार साह र गौशालाका प्रमुख शिवनाथ महतोले पनि आव २०७४÷०७५ का लागि खानेपानीका क्षेत्रमा धेरै योजना छनौट भएको र ती योजना सम्पन्न हुँदा खानेपानी समस्या धेरैजसो समाधान हुने बताउनुभयो । 

तीनवटै नगरपालिकाले खानेपानी समस्या यसै आव मा समाधान हुने बताए पनि छनोट भएका ती योजनाको काम शुरु नभएको अवस्थामा अबको साढे तीन महिनामा त्यो योजना सम्पन्न हुनेमा सर्वसाधारणले आशंका व्यक्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ