वैशाख २७ गौशाला | महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा अवस्थित रातु खोलामा तैरिरहेको अवस्थामा आज बिहान एक बालकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार एकडारा गाउँपालिका–६ बगेया बस्ने किरित दासका छोरा अन्दाजी ९ वर्षीय रोशन दासको शव आज बिहान रातु खोलामा तैरिरहेको अवस्थामा भेटिएको हो ।

परिवारजनका अनुसार बुधबार साँझ तीनजना साथीसँग खेल्दाखेल्दै नदीमा नुहाउन गएका बालक दास सोही नदीले बगाएर बेपत्ता भएका थिए । नदीले बगाएर बेपत्ता भएका बालकलाई आफन्त, प्रहरी, नेपाली सेनालगायतले रातभरि नदीको विभिन्न भागमा खोजतलास गरेपनि उनी फेला परेका थिएनन् ।

तर आज बिहान उनी बेपत्ता भएकै स्थानमा नदीभित्र रहेको खाल्डोबाट पानीमाथि तैरिरहेको अवस्थामा फेला परेका हुन् । रासस