Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

ग्यासमा कालोबजारी गर्ने ब्यापारीमाथि कारबाही सुरु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पर्वत, चैत २८ ग्यास लुकाउने सुरेन्द्र किराना पसलका सञ्चालक लक्ष्मी अधिकारीलाई जिल्ला प्रशासन कार्यालयले धरौटी लिएर अनुसन्धानमा राखेको छ । सुराकीको आधारमा ग्यास लुकाएर दोब्बर मुल्यमा बिक्री गरेको आरोप लागेका उनलाई प्रशासनले दुई लाख ५० हजार रुपैयाँ धरौटी लिएर अनुसन्धान अघि बढाएको हो ।

\कालोबजारी गर्ने ब्यापारीलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने भएपनि धरौटी मात्र लिएर अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुसन्धान अधिकृत सुबास लामिछानेले अहिले उजुरी र पसलका कागजात एकैठाउमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए ।

केही दिनअघि उनको पसलमा छापा मार्ने क्रममा १३ सिलिण्डर भरी ग्यास लुकाएर राखेको अवस्थामा फेला परेको थियो । उक्त पसलले छ हजारदेखि नौ हजारसम्ममा भरी ग्याससहितका सिलिण्डर गोप्य रुपमा बिक्री गर्ने गरेको प्रशासनस्रोतले जनाएको छ । कालोबजारीमा अधिकारी दोषी देखिएमा एक बर्षसम्म कैद वा दुई लाख ५० हजार रुपैयाँसम्म जरिवाना तथा दुबै सजाय हुनसक्ने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

‘अनुसन्धानको सबै अधिकार अनुसन्धान अधिकृतलाई छ, उहाँले अनुसन्धान पुरा भएपछि सरकारी वकिलमार्फत मलाई फाइल प्राप्त हुन्छ’ प्रजिअ ढकालले भने–‘मैले प्राप्त कागजातका आधारमा कारबाहीको फैसला गर्ने हो ।’ यता अधिकारीलाई छुटाउनका लागि पर्वत उद्योग बाणिज्य संघको चर्को दबाब परेको प्रशासनस्रोतले जनाएको छ ।